सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा प्रहरीको भूमिका कमजोर, ठुला अपराधका फाइल नै होल्ड

२०८० भदौ २६, ०२:०४

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशमा प्रहरीको भूमिका विगतदेखि नै कमजोर देखिदै आएको छ। विशेष गरी ठुला अपराधका घटनामा यहाँको प्रहरी प्रशासनले सफलता प्राप्त गर्न सकिरहेको छैन्। एसपी, एसएसपी र डिआइजीसम्मै फेरिनेक्रम बढ्दै गएको अवस्थामा समेत ठुला प्रकृतिका अपराधमा ठुलो सफलता प्रहरीले प्राप्त गर्न सकेको छैन्।

सुदूरपश्चिम प्रदेशमा वर्षौं अघि भएका घटनाहरू अहिले पनि रहस्यमै छन्। २०७० मंसिर २६ गते दिउँसो कञ्चनपुरको महेन्द्रनगरस्थित नबिल बैंकको शाखाबाट नेपाल राष्ट्र बैंक धनगढीमा जम्मा गर्न लगिएको दुई करोड ३० लाख ६० हजार रुपैयाँ र दुई सय अमेरिकी डलर पूर्व–पश्चिम राजमार्गको मालाखेती जंगलमा लुटियो। यो घटना भएको १० वर्ष पुग्नै लाग्यो, त्यसको दोषी अझै पत्ता लाग्न सकेको छैन। यो विषयमा पछिल्लो समय प्रदेश प्रहरीले खोजीनीति नै गर्न छोडेको सरोकारवाला बताउँछन्।

कैलालीमा मात्र प्रहरीले सल्टाउन नसकेका आपराधिक घटनाको सुची निकै लामो छ। २०७४ जेठ ७ गते राति धनगढी उपमहानगरपालिका–७, छात्रावास टोलका ७२ वर्षीय बद्रीप्रसाद जोशी र उनकी ६५ वर्षीया श्रीमती कुन्तादेवी जोशीको हत्या भयो। त्यो घटना अहिले पनि रहस्यमै छ। धनगढीमै २०६९ मंसिर २५ गते हत्या गरिएका ओमप्रकाश पन्तका परिवारले पनि अझै न्याय पाएको छैन।

नयाँ डिआइजी आउने वित्तिकै दोषी पत्ता लाग्छ की भनेर मृतका परिवार केहि वर्ष अघिसम्म आशावादी हुने गरेको भए पनि पछिल्लो समय निराशा मात्र बोकेर दिन बिताउन बाध्य बनेको छ। त्यस्तै अत्तरियास्थित खानेपानी ट्यांकी नजिक भएको बझाङका शिक्षकको हत्या पनि रहस्यमै छ। अत्तरियाकै गोदावरी पुल नजिक एक महिलाको जबरजस्ती करणीपछि बिभत्स हत्या भएको घटनामा पनि प्रहरीले सफलता प्राप्त गर्न सकेको छैन्।

लोक सेवा आयोगका तत्कालीन क्षेत्रीय प्रमुख नवराज चौलागाई बेपत्ता भएको वर्षौंसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन। धनगढीको क्याम्पस रोडमा डेरी व्यवसाय गर्ने दीपक खड्का परिवारसहित बेपत्ता भएको लामो समय बित्यो। खड्का परिवारको अवस्था पनि हालसम्म प्रहरीले थाहा पाउन सकेको छैन। २०७५ फागुन २८ गते राति घोडाघोडी नगरपालिकाका तत्कालिन नगरप्रमुख ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भयो। तर आक्रमणकारीबारे प्रहरी बेखबर जस्तै छ।

कैलालीको अत्तरियामा गोलि प्रहार गरी लुटपाट गर्ने अझै पक्राउ पर्न सकेका छैनन्। २०७९ पौष ३ गते सशस्त्र बाहिनी अगाडी गोली प्रहार गरी लुटपाट गरेर फरार भएकाहरुको अझै अत्तोपत्तो छैन्। पौष ३ गते साँझ मोटरसाइकलमा आएका दुई जनाले अत्तरियाका सुन व्यवसायी विकास सुनारमाथि गोली प्रहार गरी लुटपाट गरेका थिए। २०७५ साउन १० गते गृहकार्य गर्न भन्दै साथीको घर पुगेकी कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषय आजका मितिसम्म आइपुग्दा अपराधीको पहिचानसम्म भएको छैन।
उल्टो प्रहरी नै अनैतिक कार्यमा
ठुला अपराधमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउनुको सट्टा उल्टै प्रहरी नै अनैतिक कार्यमा संलग्न भएको घटना यसअघि सार्वजनिक भयो। प्रहरी प्रधान कार्यालयले पछिल्लोपटक महिला सहकर्मीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा एसएसपी योगबहादुर पाललाई कारबाही गरेको छ। प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरमा कार्यरत उनले गत १९ जेठमा बिदामा जान लागेकी महिला हवल्दारलाई दुर्व्यवहार गरेका थिए।

उनले सरकारी निवासमै बोलाएर ती महिलासँग ‘तिमी मलाई मन प¥यो, आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्दै आफूसँगै बस्न प्रस्ताव गरेका थिए। पीडित महिला हवल्दारले उजुरी दिएपछि हेडक्वाटरले उनलाई निलम्बन गर्दै डिआइजी सुरेन्द्र मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।

समितिले कार्यालयभित्रै महिला सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको ठहर गर्दै एसएसपी पाललाई गम्भीर प्रकृतिको विभागीय कारबाहीको सिफारिससहितको प्रतिवेदन आइजिपी वसन्तबहादुर कुँवरलाई बुझाइसकेको छ। पालले कार्यालयका अन्य महिला प्रहरीलाई पनि विगतमा त्यसैगरी दुर्व्यवहार गर्ने गरेको छानबिनमा खुलेको छ।

कमेन्ट लोड गर्नुस