सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा तरकारी खेतीः साढे २ विघा जग्गा, वार्षिक २५ लाख आम्दानी

२०८० भदौ २५, ०३:२७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्काले व्यावसायिकरुपमा तरकारी खेती गरेर वार्षिकरुपमा २५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्। डेढ दशकदेखि तरकारी खेतीमा संलग्न खड्काले दुई बिघा १० कट्ठा जग्गामा खेती गर्दै आएका हुन्।

दश कठ्ठा मात्रै आफ्नो जग्गा भएका बताउँदै उनले दुई बिघा तरकारी खेतीका लागि भाडामा लिएको बताए। उनका अनुसार वार्षिक एक सय टन बढी तरकारी उत्पादन हुने गरेको छ। मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आएको भन्दै खड्काले अहिले खेतमा काउली, बन्दा, गोलभेडा, खुर्सानी, भान्टा, मुला, सिमला मिर्च, हरियो र धनियाँ लगाइएको बताए।

‘केही महिनाअघि मात्रै हरियो धनियाँ र सागपात मात्रै दुई लाख बढीको बिक्री भएको छ’, उनले भने, ‘वर्षमा रु १० लाख बढीको काउली मात्रै बिक्री हुने गरेको छ।’ उत्पादित तरकारी महेन्द्रनगर बजार पु¥याएर बेच्दै आएको उनले बताए। खड्का वडाका एक्ला व्यावसायिक तरकारी खेती गर्ने किसानका रूपमा रहेका छन्। तरकारी खेतीसम्बन्धी तालिम नलिएको जनाउँदै खड्काले अरूका बारीमा तरकारीका लागि खेत तयार गर्ने र लगाउने गरेर सिकेको बताए।

त्यसरी सिकेको सीपलाई निरन्तरता दिँदै आएको उनको भनाइ थियो। किसान परियोजना–२ बाट एउटा सिँचाइका लागि बोरिङ र सुदूरपश्चिम क्षेत्रीय कृषि निर्देशनालयबाट ५० प्रतिशत अनुदानमा एउटा खेत जोत्ने पावर टिलर सहयोग पाएको उनले बताए। तरकारी खेतीबाट आएको आम्दानीले १२ जनाको संयुक्त परिवारको जीविकोपार्जन भएको जनाउँदै खड्काले पक्की घरसमेत बनाएको बताए।

‘छोरा, बुहारी, म र श्रीमती बिहानदेखि साँझसम्म तरकारी बारीमा काम गरिरहेको हुन्छौँ’, उनले भने, ‘खेतीमा सिँचाइ गर्ने, गोडमेल गर्ने, तरकारी टिप्ने र बजारसम्म लगेर बिक्री गर्ने कार्यमा व्यस्ता हुन्छौँ।’ तरकारी खेती गर्नुअघि खड्काले स्वामित्वको जग्गामा अरू किसानले झैँ धान, गहुँ खेती लगाउने गर्थे। परिवारका लागि वर्षभरि खान पनि मुस्किलले पुग्ने गर्दथ्यो। घर खर्च चलाउनका लागि १५ लाखसम्म ऋण लागेको उनले बताए। केही वर्षदेखि जग्गा भाडामा लिएर तरकारी खेती गर्न थालेपछि आम्दानी थप बढ्न थालेको उनले बताए। –रासस

कमेन्ट लोड गर्नुस