सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर पहाडका अधिकांश सडक अवरुद्ध, ढुंगा लागेर एक जनाको मृत्यु

२०८० भदौ २४, ०६:३० खबर संवाददाता

धनगढीः शनिबार रातिदेखिको अविरल वर्षाले बैतडी–दार्चुला जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुर्नाया गाउँपालिका–३ धर्मघर नजिक पहिरो जाँदा आइतबार बिहान ११ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले शतबाँझ गोकुलेश्वरको धर्मघर नजिक पहिरो गएपछि यातायात अवरुद्ध भएको बताएका छन्।

निरन्तरको वर्षाले सडक खोल्न नसकिएको पनि उनले बताएका हुन्। महाकाली राजमार्ग अवरुद्ध भएपछि दार्चुला जाने सबै यातायातका साधन सडक खण्डमै रोकिएका छन्। अविरल वर्षापछि पहिरो जाँदा सुदूर पहाडका तीन जिल्ला जोड्ने केआईसिंह राजमार्ग शनिबार रातिदेखि अवरुद्ध छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार केआईसिंह राजमार्गको डडेलधुरा सडक खण्डमा पर्ने रडुवामा पहिरो जाँदा शनिबार रातिदेखि डोटी, अछाम र बाजुरा जोड्ने यातायात सेवा अवरुद्ध भएको हो। गन्यापधुरा गाउँपालिका–२ को रडुवाको माथिबाट पहिरो झर्ने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।

बाजुरामा पनि शनिबारदेखि आएको अविरल वर्षाका कारण साँफे–मार्तडी राजमार्गको अम्कोटमा पहिरो खसेपछि अवरुद्ध बनेको छ। अविरल वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने राजमार्गमा शनिबार रातिदेखि पहिरो आउन थालेपछि राजमार्ग सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

राजमार्गको अम्कोटमा माथिबाट पहिरो बग्न थालेपछि अवरुद्ध राजमार्गको पहिरो पन्छ्याउन वर्षा नरोकिएका कारण सम्भव नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताएका छन्। उनका अनुसार सडकमा आएको पहिरो हटाउन अम्कोटमा स्काभेटर तयारी अवस्थामा राखिएको भए पनि पानी नरोकिएपछि हटाउन समस्या भएको छ। वर्षा रोकिएपछि पहिरो हटाएर सडक नियमित सुचारु गर्न प्रयास भइरहेको प्रहरी निरीक्षक भण्डारीले बताएका हुन्।

सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधनको आवतजावत ठप्प भएको छ। त्यस्तै पहिरोसँगै खसेको ढुंगा टाउकोमा लागेर डडेलधुराका १७ वर्षीय एक किशोरको मृत्यु भएको छ। शनिबार डोटीको दिपायलबाट मोटरसाइकलमा डडेलधुरा फर्किरहेका १७ बर्षीय राकेश ऐरको गन्यापधुरा गाउँपालिका–२ रडुवा खोलानजिकै आएको पहिरोको ढुंगा लागेर मृत्यु भएको हो।

महेन्द्र माध्यामिक विद्यालयको कक्षा १० मा अध्ययनरत ऐरको डडेलधुरा अस्पतालमा उपचार हुन नसक्दा धनगडी रिफर गरिएको थियो। मोटरसाइकल पछाडि बसेका ऐरको आइतबार बिहान मृत्यु भएको हो। म १ प ८८३० नम्बरको मोटरसाइकल चालक नरेन्द्र पनेरु भने सकुशल रहेको डडेलधुरा प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस