सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसिया कप : भारत र पाकिस्तान भिड्दै

२०८० भदौ २४, ०८:१२

काठमाडौँ : एसिया कप क्रिकेट अन्तर्गत आज भारत र पाकिस्तान भिड्दै छन्। खेल श्रीलंकाको कोलम्बोमा दिउँसो ३ः१५ बजे सुरु हुनेछ। 

समूह चरणमा पनि यी दुवै टिम एउटै समूहमा रहेका थिए। तर वर्षाले गर्दा पूरा हुन सकेको थिएन। यो खेलमा पनि वर्षा हुन सक्ने आँकलन भइरहेको छ। 

सुपर फोरमा भारतले पहिलो खेल खेल्दै गरेको हो। पाकिस्तानले भने पहिलो खेलमा बङ्गलादेशलाई हराएको थियो।  

यता, सुपर फोरमा लगातार दुई खेल हारेसँगै बङ्गलादेश एसिया कप क्रिकेटबाट एक खेलअघि नै बाहिरिएको छ। सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको बङ्गलादेश दोस्रो खेलमा शनिवार राति श्रीलंकासँग हारेको हो। 

कोलम्बोमा भएको खेलमा बङ्गलादेश २१ रनले पराजित भया । श्रीलंकाले पहिले ब्याटिङ गर्दै प्लेयर अफ द म्याच सदीरा समराविक्रामाको ९३ रनको मद्धतले ९ विकेटको क्षतिमा २५७ रन बनायो। 

जवाफमा बङ्गलादेशले ४८.१ ओभरमा अलआउट हुँदै २३६ रनमात्र बनाउन सक्यो । टहिड हृडोएले ८२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । 

यो हारले बङ्गलादेश भारतसँग खेल्नुअघि नै सुपर फोरबाट बाहिरिएको छ । 

सुपर फोरमा खेलेका १–१ खेलमा जित हासिल गर्दै पाकिस्तान र श्रीलंकाले २–२ अंक बटुलेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि फाइनल खेल्नेछन् । 

पहिलो पटक एसिया कप खेलेको नेपाल र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिएका थिए । 

नेपाल भारतसँग १० विकेटले र पाकिस्तानसँग २३८ रनले पराजित भएको हो । नेपाली टिमको निकै नै प्रशंसा भएको थियो । भारतविरुद्ध नेपालले २३० रन बनाएको थियो । पाकिस्तानले नेपाली बलर सामु ब्याटिङ गर्न निकै सङ्घर्ष गर्नुपरेको थियो ।

कमेन्ट लोड गर्नुस