सुदूरपश्चिम प्रदेश सरकार अपाङ्गता भएका नागरिकसँग छलफलमा
धनगढीः सुदूरपश्चिम सरकारले पहिलो पटक अपाङ्गता भएका व्यक्तिका बारेमा छलफल सुर गरेको छ।
सुदूरपश्चिम सरकारले बनाउन लागेको नीतिमा अपाङ्गता भएका व्यक्तिको हक अधिकार समावेश गर्न र वार्षिक योजना तथा कार्यक्रम गर्न पहिलो पटक अपाङ्गता भएका व्यक्तिहरूसँग छलफल गर्न लागेको हो। प्रदेश सरकार गठनको छ वर्षपछि सुदूरपश्चिम सरकार पहिलो पटक अपाङ्गता प्रादेशिक निर्देशन समिति गठन गरेर अन्तरमन्त्रालयबिच छलफल मा जुटेको हो।
प्रदेश सरकारलाई समाजमा रहेका अपाङ्गता भएका व्यक्तिको हकहितका लागि छुट्टै नीति बनाएर लागु गर्न सक्ने प्रावधान रहेको छ। अपाङ्गता भएका व्यक्तिले संविधानप्रदत्त हक अधिकारको कार्यान्वयन गरिदिन सरकारलाई आग्रह गरेको छ। राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश अध्यक्ष मानबहादुर साउदले आफ्ना माग सम्बोधन गराउन धनगढीमा १० दिनसम्म आन्दोलन गर्नु परेको बताए। सोही आन्दोलन पछि प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिका लागि नीति ल्याउन अपाङ्गता प्रादेशिक निर्देशन समिति गठन गरेर छलफल थालेको उनले बताए।–गोरखापत्र