सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमलाई २० वर्षपछि भारात्तोलनमा स्वर्ण

२०७६ वैशाख ११, ०६:३३ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशले २० वर्षपछि भारातोलनमा स्वर्ण पाएको छ। २०५५ सालमा नेपालगंजमा भएको पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितापछि स्वर्ण नपाएको सुदूरपश्चिमले यसवर्ष पाएको हो। नेपालगञ्जमै जारी आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमले २० वर्षपछि भारातोलनमा स्वर्ण पदक जितेको हो। एक सय दुई तौल समुहमा १७ बर्षीय सागर भण्डारीले सुदुरपश्चिमलाई भारात्तोलनमा स्वर्ण दिलाएका हुन्। यस्तै विशाल विष्ट र चम्पा ठकुल्लाले रजत पदक हात पार्दा रविलाल चौधरीले कास्य पदकमा चित्त बुझाए। पाँचौ राष्ट्रिय खेलकुदमा पाएको स्वर्णपछि छैठौं र सातौंमा स्वर्ण पदक विहीन भएको प्रदेशलाई पदक जिताउन पाउँदा धेरै खुशी लागेको स्वर्ण पदक विजेता खेलाडी सागर भण्डारीले बताए। २० वर्षपछि भारात्तोलनमा रहेको स्वर्ण पदकको खडेरी तोड्ने श्रेय जान्छ प्रशिक्षक जीवन गौतमलाई। उनले  नै पाँचौमा सुदुरपश्चिमलाई स्वर्ण जिताएका थिए।

त्यसपछि गौतमले नै प्रशिक्षण दिएका खेलाडीको गुरुको विडो थाम्दै स्वर्ण पदक सहित चार पदक हात पारेका छन्। प्रशिक्षक गौतमले २०४३ सालदेखि २०५५ सालमा भएको तेस्रो चौथो र पाँचौ राष्ट्रिय खेलकुदमा सुदुरपश्चिमका लागि भारात्तोलनमा स्वर्ण पदक जितेका थिए। दुई दशक लामो पर्खाई पछि पदक जिताउन सफल भएकोमा खुशी व्यक्त गर्दै खेलाडीहरुले अझ राम्रो खेल्नुपर्नेमा त्यसो गर्न नसकेको प्रशिक्षक गौतमको भनाई छ। सुदुरपश्चिमलाई स्वर्ण जिताउने सागर भण्डारी र रजत जिताउने विशाल विष्टले जुनियर तौल समुहमा एसियन गेममा समेत भाग लिईसकेका छन् भने विभिन्न देशमा भएको जुनियर भारात्तोलन प्रतियोगितामा दुवै जनाले सहभागीता जनाउँदै आएका छन्। खेलाडीले कडा मेहनत गर्दा गर्दै पनि केन्द्र र प्रदेशबाट सहयोग नहुँदा भने केही पदक जित्नबाट चुकेको अनुभव खेलाडी र प्रशिक्षकसँग रहेको छ ।

विभिन्न निकाय र सरकारी तहबाट सहयोग भएमा अझ पदक जिताउने दावी भारात्तोलन प्रशिक्षक जीवन गौतमको रहेको छ । नेपालगंजमा भएको राष्ट्रिय प्रतियोगितामा स्वर्ण सहित चार पदक जिताएको सुदुरपश्चिमको भारात्तोलन टोली सुदुरपश्चिम फर्किएको छ । मनमा उत्साह र आशा बोक्दै फर्किएका खेलाडीहरुका लागि केही सहयोग गर्न सकेमा आगामी दिनमा थप पदकहरुको आशा गर्न सकिन्छ । 

कमेन्ट लोड गर्नुस