सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पेट्रोलियम पदार्थको माग ह्वात्तै, कति हुन्छ दैनिक खपत?

२०८० भदौ २१, ०२:०२ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशभित्र पेट्रोलियम पदार्थको माग ह्वात्तै बढेको छ। बढ्दो सवारीसाधनसँगै पेट्रोल र डिजेलको माग ह्वात्तै बढेको हो। पेट्रोलियम पदार्थको खपत सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुरमा हुने गरेको छ। विगतका वर्षहरुको तुलनामा ७ पहाडी जिल्लामा समेत पेट्रोलियम पदार्थको माग बढेको छ।

गाउँघरमा खुलेका सडक र बढ्दो मालबाहक तथा यात्रुवाहक सवारी साधनका कारण इन्धनको बढ्दो मागसँगै खपत पनि बढेको हो। सुदूरपश्चिम प्रदेशभित्र अहिले एक लाख लिटर दैनिक पेट्रोल खपत भइरहेको नेपाल आयल निगम प्रादेशिक कार्यालय धनगढीले जनाएको छ। डिजेलको खपत भने दोब्बर अर्थात दैनिक दुई लाख लिटर खपत हुँदै आएको छ।

कुनैकुनै महिना भने दैनिक पेट्रोलको खपत एक लाख २० हजार लिटरसम्म पुग्ने गरेको आयल निगम प्रादेशिक कार्यालय धनगढीका प्रमुख मोहनकुमार शाहले बताए। ‘अहिले पेट्रोलिय पदार्थको माग र खपत बराबर छ, आपुर्ति सहज र खपत मागअनुसार नै भइरहेको छ।’ प्रदेशभित्र न्युनतम दैनिक एक लाखदेखि अधिकतम एक लाख २० हजारसम्म पेट्रोल र दुई लाख लिटर डिजेलको कारोबार भइरहेको उनले बताए।

पछिल्लो समय पेट्रोलियम पदार्थ ढुवानीका लागि ट्याङ्करको समेत कुनै अभाव नभएको आयल निगमको प्रादेशिक कार्यालय धनगढीले जनाएको छ। महिनामा ३० देखि ३५ लाख लिटर पेट्रोल र ६० लाख लिटर बढी डिजेलको कारोबार आयल निगम धनगढीले गर्दै आएको छ।

अहिले पेट्रोलको मुल्य बढेर प्रतिलिटर १७९.५ र डिजेलको मुल्य प्रतिलिटर १६७.५, मट्टीतेल १६९.५ तथा एलपी ग्यासको मुल्य प्रति सिलिण्डर एक हजार ८ सय ९५ रुपैयाँ पुगेको छ। सुदूरपश्चिम प्रदेशभित्र पछिल्लो समय बढेको मुल्यमा महिनामा ३० लाख लिटर पेट्रोल विक्री हुँदा ५३ करोड ८५ लाख, ६० लाख लिटर डिजेल विक्री हुँदा एक अर्ब ५० लाख आयल निगम धनगढीको कारोबार पुग्ने देखिएको छ।

पेट्रोल र डिजेलको मात्र महिनामा एक अर्ब ५४ करोड ३५ लाख कारोबार हुने देखिएको छ। मट्टीतेल र एलपी ग्यासको कारोबार अझ बढी हुने अनुमान छ। आयल निगमको प्रादेशिक कार्यालयसँग भण्डारण क्षमता न्युन हुँदा भारतबाट आयात गरिएको पेट्रोलियम पदार्थ सिधै पेट्रोल पम्पसम्म ढुवानी गर्नुपर्ने बाध्यता अहिले पनि कायमै छ।

कमेन्ट लोड गर्नुस