सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका विभिन्न अदालतमा कार्यरत अधिकारीहरुको सरुवा

२०८० भदौ २०, ०८:१० खबर संवाददाता

कैलालीः न्याय परिषद्ले सुदूरपश्चिम प्रदेशका विभिन्न अदालतमा कार्यरत न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकारीहरुको सरुवा गरेको छ।

परिषदले उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासका रजिष्ट्रार नरेन्द्रबहादुर बुढालाई सर्वोच्च अदालतमा सरुवा गरेको छ।

यस्तै दार्चुला जिल्ला अदालतका स्रेस्तेदार कोशलेश्वर ज्ञवालीलाई काठमाडौं जिल्ला अदालतमा, डडेल्धुराका स्रेस्तेदार रामु शर्मा र बैतडीका स्रेस्तेदार जनकसिंह बोहरा सर्वोच्च अदालतमा सरुवा भएका छन्। परिषद्ले दामोदर रेग्मीलाई डडेल्धुराको स्रेस्तेदारमा सरुवा गरी पठाएको छ।

कैलालीका स्रेस्तेदार राइभान कुञ्जेडा, कञ्चनपुरका स्रेस्तेदार जयन्ती अवस्थी भट्ट र डोटीका स्रेस्तेदार बिरेन्द्रबहादुर मल्ल पनि सर्वोच्च अदालतमा सरुवा भएका छन्।

परिषद्ले उच्च अदालत दिपायकका उपरजिष्ट्रार सीता रेग्मीलाई पनि सर्वोच्च अदालतमा सरुवा गरेको छ।

यस्तै गम्भीर रानामगरलाई डोटी, ताराप्रसाद जोशीलाई कञ्चनपुर, मानबहादुर विष्टलाई कैलाली र गोकुल पन्तलाई बैतडी जिल्ला अदालतका नयाँ स्रेस्तेदारमा खटाइएको छ।

कमेन्ट लोड गर्नुस