सुदूरपश्चिममा यौन अपराधको डरलाग्दो स्वरुप, यसरी फस्दैछन युवायुवती
वीरेन्द्र भट्ट। धनगढीः कैलालीको धनगढी स्थित मायामेट्रो अस्पतालमा कार्यरत जाईकी डाक्टर प्रशन्ना शाह आफ्नै घरमा २०८० जेठ ५ गते मृत अवस्थामा फेला परिन्। भारतको बङ्गलोरबाट दुई वर्ष अगाडि एमविवीएस फिजियोथेरापीको अध्ययन गरेकी डाक्टर शाह दुई वर्षदेखि नै मायामेट्रो अस्पतालमा कार्यरत थिइन्। सेवा निवृत्त सशस्त्र प्रहरी उपरीक्षक पिताका दुई सन्तानमध्ये कान्छी शाहको केही महिनापछि भारतको देहरादुनबाट एमडी अध्ययन गर्ने योजना थियो।
तर, एमडी गर्ने योजना पुरा नहुँदै उनले आफ्नै ज्यान गुमाउन पुगेकी हुन्। जुन घटनाले परिवार र आफन्त मात्रै नभएर डाक्टर शाहले २६ वर्षमै मृत्यु स्वीकार गर्नुपर्ने कारणबारे थाहा हुनेहरू स्तब्ध भएका छन्। दुई प्रेमीको घानमा परेपछि उनले देहत्यागको बाटो रोज्न पुगेको देखिन्छ। कैलालीको गोदावरी नगरपालिका–४ अत्तरियाकी १८ वर्षीया अस्मि बोहरा पनि गत ९ असारमा आफ्नै घरभित्र मृत अवस्थामा फेला परिन्।
बोहरालाई जबरजस्ती करणीपछि आत्महत्या गर्न बाध्य पारेको भन्दै मुगुको सेरु गाउँपालिका–३ का २१ वर्षीय डिलेन्द्र शाही र अस्मीकी साथी लक्ष्मी खड्कालाई प्रहरीले पक्राउ नै गरेर मुद्दा अगाडि बढाएको छ। नेपालगंजमा अध्ययनरत अस्मिमाथि नेपालगंजमै जबरजस्ती करणी भएको खुलेको हो। धनगढीमा प्रहरी स्कुलकी शिक्षिका २२ वर्षीया राजेश्वरी डडाल पनि यही भदौ ७ गते मृत अवस्थामा फेला परिन्।
दार्चुलाको मार्मा गाउँपालिका–६ घर भएकी ती शिक्षिका धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी थिइन। चटकपुरमा आफन्तको घरमा बस्दै आएकी डडाल घरभन्दा करीब डेढ सय मिटर उत्तरतर्फ मृत अवस्थामा फेला परेकी थिइन्। मृतक र २५ वर्षीय जगदिश कोट्टारी प्रेम सम्बन्धमा रहेको विषय बाहिर आएको छ। शिक्षिका डडाल मृत भेटिएको घटनामा पीडित पक्षले दिएको किटानीका आधारमा कोट्टारीलाई पक्राउ गरिएको छ।
त्यस्तै, यही भदौ ७ गते नै धनगढी उपमहानगरपालिका–७ क्याम्पस रोडका ३१ वर्षीय चन्द्रदेव भण्डारी (चन्दु) आफ्नै घरभित्र मृत अवस्थामा फेला परे। घर परिवारका एक्ला छोरा चन्दुले किन देहत्याग गरे भन्ने विषयमा अनुसन्धान जारी नै छ। उनी विवाहित हुन्। उनको सम्बन्ध विच्छेदको मुद्दा अदालतमा चलिरहेको थियो। देहत्याग गर्नुको मुख्य कारण भने रहस्यमै छ। यी त केबल देहत्याग गर्नेहरुमध्ये केहि प्रतिनिधि उदाहरण मात्र हुन्।
शैक्षिकस्तर बढ्दो क्रममा रहँदा पनि देहत्याग जस्तो अपराध समाजमा बढ्दो क्रममै देखिनु चिन्ताको विषय हो। तथ्यांक केलाउँदा बढी व्यक्तिले विष खाएर र झुण्डिएर देहत्याग गरेको देखिन्छ। देहत्याग मानसिक रोगको उपज पनि हो। सबैभन्दा बढी देहत्याग १५ देखि ३१ वर्ष उमेर समुहका युवा–युवतीले गर्ने गरेको पछिल्लो तथ्यांकले देखाउँछ। त्यसको मुख्य कारण युवावयमा बढ्दो मानसिक तनाव र डिप्रेसन रहेको प्रहरी अधिकृतहरु बताउँछन्।
धेरैजसो युवायुवती शारीरिक र यौन हिंसाबाट पीडित हुने भएकाले आफ्नो समस्याबारे परिवारसँग खुलेर कुरा गर्न नसक्दा मानसिक तनावमा रहने गर्छन्। तनाव बढ्दै गई डिप्रेसन हुने र त्यसपछि देहत्यागको बाटो रोज्ने गरेको समेत पाइन्छ। साथै देहत्याग गर्नुको पछाडि आर्थिक, सामाजिक र पारिवारिक कारण पनि रहेको अधिकारीहरु बताउँछन्। कुनै महिला यौन हिंसामा परेमा उसले परिवारमा कसैसँग आफ्नो समस्याबारे खुलेर कुरा गर्न सक्दिनन्।
भनिहाले पनि परिवार र समाजले महिलालाई नै दोषी ठह¥याउँछ। त्यसपछि समाजबाट बहिष्कृत हुने भयका कारण त्यस्ता समस्यालाई महिलाहरूले मनभित्रै दबाएर राख्छन्। कसैले थाहा पाए के गर्ने, कहाँ जाने भन्ने चिन्ताले उनीहरूलाई पिरोल्दै लग्छ र अन्तिम विकल्पका रूपमा देहत्याग रोज्छन्। आर्थिक वर्ष २०७९/८० को वैशाखसम्म मात्र सूदूरपश्चिम प्रदेशमा ४४६ जनाले देहत्याग गरेका छन्। जसमा २२९ पुरुष, १५५ महिला, ४४ किशोरी र १८ किशोर छन्।
त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ५८३ जनाले देहत्या गरेको प्रहरी अभिलेख छ। जसमा २९५ पुरुष, २२५ महिला, ३९ किशोरी र २४ किशोर थिए। अहिले गाउँ–गाउँमा वैदेशिक रोजगारको लहर छ। देशको अर्थतन्त्र नै विदेशिएका युवाले पठाएको रेमिट्यान्सबाट चलेको छ।
तर, वैदेशिक रोजगारीमा जाने व्यक्ति ४/५ वर्षसम्म स्वदेश फर्कन सक्दैन। स्वदेश फर्केपछि पनि श्रीमानले श्रीमती र श्रीमतीले श्रीमानलाई शंका गर्ने, पठाएको पैसाको खर्चको हिसाबकिताब नमिल्दा सम्बन्ध चिसिँदै गएर पनि यस्ता घटना हुने गरेको सम्बद्ध अधिकारीहरु बताउँछन्।
पुरुषको संख्या बढी
महिलाले घर व्यवहार चलाउने र पुरुषले परिवार धान्न कमाउनुपर्छ भन्ने मानसिकता छ। जुनसुकै हालतमा भए पनि कमाएर परिवारलाई धान्नुपर्ने जिम्मेवारी पुरुषको काँधमा रहेकाले पनि उनीहरूलाई निकै तनाव हुन्छ। त्यही तनाव व्यवस्थापन गर्न नसक्ने व्यक्तिले देहत्याग गर्ने गरेको देखिन्छ। एकातिर पुरुषले कमाएर परिवार पाल्नुपर्छ भन्ने मान्यता छ भने अर्कातिर पढेलेखेका युवा बेरोजगार छन्। पुरुष भएर पनि परिवारका लागि केही गर्न सकिनँ भन्ने सोचका कारण डिप्रेसनमा पर्ने युवाले देहत्यागको बाटो रोज्ने गरेको पाइन्छ।
त्यसो त, देहत्याग गर्ने महिलाको संख्या पनि कम छैन। किन देहत्यागका लागि बाध्य हुन्छन् महिला? महिला अधिकारकर्मी भन्छन्, ‘महिलाहरू घरेलु हिंसा, यौन हिंसामा पर्ने भएकाले त्यसको प्रतिकार गर्न नसकी देहत्यागको बाटो रोज्छन्।’ महिलालाई देहत्याग गर्न दुरुत्साहन गरिएका घटना पनि प्रशस्त छन्।
प्रमुख कारण डिप्रेसन
मानिसलाई कुनै समस्या प¥यो र त्यसको समाधान भेटाएन भने डिप्रेसनमा फस्दै जान्छ। डिप्रेसनमा परेको व्यक्तिले सधैंको भन्दा फरक व्यवहार देखाउन थाल्छ। जस्तो– रिसाउने, झर्किने, मानिसहरूसँग कुरा गर्न मन नगर्ने, दिक्क मान्ने, एक्लो बस्न रुचाउने, निद्रामा गडबडी, खान मन नगर्नेजस्ता लक्षण देखाउने मनोरोग विशेषज्ञ बताउँछन्। कुनै व्यक्तिको स्वभाव झनक्क रिस उठ्ने हुन्छ, त्यस्तो व्यक्तिलाई चित्त दुख्ने कुरा गरेमा उसले तत्कालै केही सोच्दै नसोची देहत्यागको बाटो रोज्ने गरेका उदाहरण पनि धेरै छन्।
डिप्रेसनमा रहेका व्यक्तिलाई कसरी बचाउने?
मानिसलाई देहत्याग गर्नबाट बचाउन सबैभन्दा पहिले डिप्रेसनको पहिचान हुन जरुरी छ। जसलाई डिप्रेसन भएको छ, त्यो व्यक्तिले आफूमा आएको परिवर्तनलाई पहिचान गर्न आवश्यक हुन्छ। देहत्याग न्यूनीकरणका लागि हरेक पालिकाले वडा–वडामा एक परामर्शदाता व्यवस्था गर्न आवश्यक छ।