सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा जनावर आतङ्कबाट ११ परिवार प्रभावित, एक महिलाको मृत्यु

२०८० भदौ १६, ०६:५६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र जनावर आतङ्क बढेको छ। चालु आर्थिक वर्ष सुरु भएको डेढ महिनाको अवधिमा जनावर आतङ्कबाट एक महिलाको मृत्यु भएको छ भने ११ घरपरिवार प्रभावित बन्न पुगेका छन्। प्रदेशभित्र वन्यजन्तुबाट आक्रमण हुने क्रम बढिरहेको छ।

विशेष गरी समुदायका नागरिक निर्वाहमुखी जीविकोपार्जनका लागि सामुदायिक तथा निजी वनमा घाँस, दाउरा, स्याउला, सोत्तर आदिका लागि जाने क्रममा हात्ती, बाघ, चितुवा, बँदेलजस्ता जनावरको आक्रमणमा परी घाइते हुने र ज्यानै जानेसम्मको घटना पनि बेला बेलामा भइरहेका छन्।

बढ्दो वन्यजन्तुको सङ्ख्या र सीमित उपयुक्त बासस्थानका कारण आहारा, विचरणको खोजीमा वन्यजन्तु संरक्षित जङ्गलका साथै स्थानीयको खेतबारी तथा घरभित्रै पसेर अन्नबाली खाइदिने, नोक्सान गरिदिने गतिविधिले वन्यजन्तुप्रतिको प्रतिशोध गर्ने घटना बढ्दै गइरहेको विज्ञहरुले बताएका छन्।

पछिल्लो समय मानव–वन्यजन्तुबिचको बढ्दो द्वन्द्व र तस्करका लागि अनुकूल अवसर र वन्यजन्तुप्रतिको प्रतिशोधको अवसरले प्रभावित स्थानीय संरक्षणप्रति उदासीन हुने गरेको सङ्केत गरिरहेका छन्। यो अवस्थामा स्थानीय निकायले ऐन, कानुन निर्माण गरी आफ्नो क्षेत्रमा वन्यजन्तु संरक्षणको वातावरणका साथै यसको द्वन्द्व व्यवस्थापन र चोरीशिकारी नियन्त्रणमा ध्यान दिनु आवश्यक देखिएको छ।

चालु आर्थिक वर्ष सुरु भएको डेढ महिनाको अवधिमा मात्र सुदूरपश्चिममा जनावर आतङ्कका ६ घटना सार्वजनिक भएका छन्। यस्ता घटनाबाट एक महिलाको मृत्यु भएको छ भने दुई महिला घाइते भएका छन्। त्यस्तै ६ जना पुरुष समेत घाइते भएको तथ्यांक छ। जनावर आतङ्कबाट ११ घरपरिवार प्रभावित बन्न पुगेका छन भने २५ पशुचौपायामा क्षति पुगेको छ।

कमेन्ट लोड गर्नुस