सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीमदत्त राजमार्गको डडेल्धुरा खण्ड भासियो, निर्माण कम्पनी कारबाहीमा

२०८० भदौ १३, ०१:२८ कमल सावद

धनगढीः सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा २०२९ सालमा गाडी पुग्यो। सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग २०४६ सालबाट कालोपत्र सुरु भएर २०५२ सालमा पूरा भएको थियो। २०२९ सालमा डडेल्धुरा गाडी पुगेको सडकको अवस्था अझै सुधार भएको छैन। डडेल्धुराको भात्काँडा क्षेत्रमा डोजर प्रयोग गरेर मोड सुधार गरिएको ठाउँमा सवारी सञ्चालनमा नै समस्या छ।

मोडसुधार गरिएको क्षेत्रमा कालोपत्र गरिएको सडक निर्माण कम्पनीले काम गरेर हस्तान्तरण गर्न नपाउँदै भत्किएको छ। सडक डिभिजन कार्यालय, कुलपाते डोटीका इन्जिनियर रमेश पन्तले कालोपत्र गरिएको तीन महिना नहुँदै उप्किएको बताए। वर्षाको कारण अहिले सडकको काम बन्द भएको पन्तले बताए। उनले भने, ‘पानीले समस्या भएको हो।

भौतिक संरचना निर्माण र कालोपत्रको काम हो। पानीको समयमा तापक्रम पनि पुग्दैन। उहाँहरुले जिद्दी गर्नु भयो। पाँच सय मिटर जति होला।’ सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको विकल्पमा अर्काे सडक छैन। सात पहाडी जिल्लाका लागि भीमदत्त राजमार्ग लाइफलाइन हो। तर, मोड सुधार र खाल्डा परेका ठाउँमा मर्मत गरिएकोमा काम पूरा नुहँदै फेरि भत्किएको छ।

पुरानो कालोपत्र गरिएको ठाउँमा सडक राम्रो भएपनि नयाँ कालोपत्र उप्किएको छ। वर्षाको पानीसँगै निर्माण कम्पनीले कालोपत्रको काम गरेकाले उप्किएको तर्क सडक डिभिजन कार्यालयको छ। पन्तले भने, ‘मोड सुधार र कालोपत्रको काम हो। वर्षाको पानीले काम रोकिएको छ। फेरि सुरु गर्छौ।’ भीमदत्त राजमार्गको डडेल्धुरा खण्ड उच्च पहाडी भू–भागमा छ।

चिसो मौसममा सडक कालोपत्र गर्न सकिदैन। गर्मीको मौसममा पनि बादल लागेको समयमा सो क्षेत्रको तापक्रम न्यून हुन्छ। तापक्रम कम हुँदा पनि सो क्षेत्रको सडक मर्मतमा समस्या देखिएको छ। तीन करोड ७५ लाख बढीको योजनाको भुक्तानी समेत भएको छैन। गत जेठ ३० गते सम्झौताको समय सकिएको छ। तर, कालोपत्र गरिएको सडक उप्किए पनि फेरि मर्मत गर्नुपर्ने देखिएको छ।

सडक डिभिजन कार्यालय, कुलपाते डोटीका इन्जिनियर पन्तले काम पूरा नभएको बताए। उनले भने, ‘ठेक्का निर्माणको चरणमा छ। जेठ ३० मा समय सकिएको हो। तर, जरिबानामा काम गर्दैछ। भत्किएको ठाउँको भुक्तानीसमेत भएको छैन। मर्मत गरेपछि मात्र भुक्तानी हुन्छ। पानी रोकिएपछि काम सुरु हुन्छ।’

डडेल्धुरा खण्डमा सडक मर्मतको काममा लापरबाही गर्ने निर्माण कम्पनीलाई कारबाही गरिएको छ। समय सकिएको ६ महिनाभित्र पुनः सडक कालोपत्रको काम पूरा गरेर निर्माण कम्पनीले हस्तान्तरण गर्नुपर्ने छ। सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको डडेल्धुरा क्षेत्रमा खाल्डै खाल्डा परेका छन्। प्रदेशका पहाडी जिल्ला जोड्ने एक मात्र भीमदत्त राजमार्गमा परेका खाल्डाका कारण दुर्घटनाको जोखिम समेत बढेको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस