सुदूर नेपाललाई विश्वसँग जोड्दै

केरामा पानामा रोगः प्रारम्भिक अध्ययन थालियो

फाइल फोटो
फाइल फोटो
२०८० भदौ १३, ०८:२३ खबर संवाददाता

कैलाली: कैलालीको टीकापुरमा केरामा देखिएको टिआर–४ (पानामा) रोगको प्रारम्भिक अध्ययन थालिएको छ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले गरेको केराको नमूना परीक्षणमा पानामा रोगको सङ्क्रमण देखापरेको थियो।

पानामा रोगको अध्ययनका लागि राष्ट्रिय बिरुवा संरक्षण सङ्गठन नेपालले गठन गरेको जोखिम विश्लेषण कार्यदलले स्थलगत अध्ययन सुरु गरेको हो। राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा रामबहादुर खड्काको नेतृत्वमा बनेको सात सदस्यीय कार्यदलले टीकापुरमा पुगेर अध्ययन सुरु गरेको छ।

कार्यदलले कृषि क्षेत्रमा काम गर्दै आएका सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका कार्यालय प्रमुखसहित किसानसँग छलफल चलाएको छ। प्रारम्भिक चरणमा रोग पत्ता लागेको बारीबाट अर्को बारीमा सर्न नदिन आचारसंहितासहित कार्यान्वयनका लागि सरोकारवालासँग छलफल गरिएको छ।

कृषि वैज्ञानिक डा रामबहादुर खड्काले किसानलाई हतोत्साहित नभएर सावधानी अपनाउन आग्रह गरे। उनले पानामा रोगको सङ्क्रमण अन्य बारीमा फैलिन नदिन किसान सचेत हुनुपर्ने बताए। माटोबाट रोग सर्ने भएका कारण किसानले प्रत्येक केरा बारीमा क्वारेन्टाइन बनाउनुपर्ने सुझाव कार्यदलले दिएको छ।

कार्यदलका सदस्य वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलले बारीमा जाँदा उत्पादन भएको केरा सङ्कलन र बजारीकरण गर्दा विशेष सावधानी अपनाउन आग्रह गरे। कार्यदलले गरेको अध्ययनले अधिकांश केरा बारीमा रोगको सङ्क्रमण फैलिएको देखाएको छ।

कतिपय ठाउँमा केरामा लक्षण नदेखिए पनि माटोबाट सरेको जीवाणुको लक्षण देखिन छ महिनासम्म लाग्ने बताइएको छ। बिरुवाबाट तीन–चार महिनामै लक्षण देखिने गरेको छ। कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र जोशीले किसान आफैँ जिम्मेवार हुनुपर्ने बताए।

उनले किसानले आफ्नो बारीको निगरानी बढाउनुपर्ने र स्थानीय सरकारले किसानसँगको समन्वय बढाउनुपर्नेमा जोड दिए। पानामा रोगको सङ्क्रमण देखिएपछि टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसको ल्याबमा परीक्षणका लागि नमूना पठाउन कार्यदलले किसानलाई सुझाव दिएको छ। रासस

कमेन्ट लोड गर्नुस