सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका दुई वडालाई योगमय बनाउने अध्यक्षहरूको प्रतिबद्धता

२०८० भदौ १२, १२:१७ खबर संवाददाता

धनगढीः धनगढीका दुई वडालाई योगमय बनाउने वडा अध्यक्षहरूले प्रतिवद्धता गरेका छन्। उपमहानगरको वडा नम्बर १ र १८ लाई योगमय बनाउने वडा अध्यक्ष सन्तोष मुडभरी र भुवन रिजालले प्रतिबद्धता जनाएका हुन्।

मङ्गलबार पतन्जलि योग समिति नेपाल, धनगढी उपमहानगर पालिका समितिले आयोजना गरेको ३६ दिने सह-योग शिक्षक प्रशिक्षण कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष मुडभरी र १८ नम्बरका अध्यक्ष रिजालले आफ्नो वडामा योगाभ्यास गर्ने र गराउने कार्यमा आवश्यक सहयोग गर्ने बताएका छन्। दुबै जनाले स्वस्थ शरीर र मनका लागि नियमित योगाभ्यास गर्नु उत्तम विकल्प भएकाले आफू पनि प्रशिक्षण लिने र अरूलाई पनि नियमित योग गर्न प्ररित गर्ने बताएका छन्।

यस्तै, वडा नम्बर १ का वडा सदस्यहरूले पनि निमिति योगाभ्यास गर्ने बताएका छन्। वडा सदस्य धर्मराज उपाध्याय र डम्मरनाथ जोशीले नियमित योगाभ्यास गर्छन भने वडा अध्यक्ष सन्तोष मुडभरी र महिला वडा सदस्य सत्यादेवी जोशी मङ्लबारबाट योग प्रशिक्षण लिन थालेका हुन्।

यसैगरी, वडा नम्बर १८ का वडा अध्यक्ष भुवन रिजालले सह-योग शिक्षक तालिम लिएपछि आफ्नो वडामा योग कक्षा चलाउने बताएका छन्। वडामा निर्माण भएका सामुदायिक भवनमा योग कक्षा चलाउने अध्यक्ष रिजालले बताएका छन्।

धनगढी-१ चकमेली बजारमा रहेको पतन्जलि योग केन्द्रमा मङ्गलबारदेखि ३६ दिने सह-योग शिक्षक प्रशिक्षणको उद्घाटन पतन्जलि योग समिति नेपालका मुख्य प्रभारी योग गुरू लवदेव मिश्रले गरेका हुन्। धनगढी नगर प्रभारी धर्मराज कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम सल्लाहकार हेमन्त ओझा, कैलाली जिल्ला प्रभारी श्यामराज श्रेष्ठ, कैलाली जिल्ला सल्लाहकार रामसिंह केसी, जिल्ला कोषाध्यक्ष मदनराज ओझा, पतन्जलि योग समितिका आजीजन सदस्य र सह-योग शिक्षक प्रशिक्षणमा सहभागी चार दर्जन बढी व्यक्तिको सहभागीता रहेको थियो।

वडा नम्बर १ चकमेली बजारमा रहेको पतन्जलि योग केन्द्रमा सुरू भएको योग प्रशिक्षण हरेक दिन बिहान साढे चार बजेदेखि सात बजेसम्म चल्नेछ। प्रशिक्षार्थीले योगाभ्यास र योग दर्शनको अध्ययन गर्ने छन्। ३६ दिनसम्म मुख्य प्रभारी मिश्रसहित अन्य गुरूहरूले प्रशिक्षण दिने छन्। योग गर्न इच्छुकले प्रशिक्षणमा भाग लिन केन्द्रमा सम्पर्क गर्न प्रशिक्षण कार्यक्रममा संयोजक योग गुरू कुलराज जोशीले बताए।

कमेन्ट लोड गर्नुस