सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्षमै उपचार पाउन सास्ती

२०८० भदौ १२, १२:१४ नारायण अवस्थी

धनगढीः सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचार पाउन सास्ती हुने गरेको छ। सेतीमा भवन र जनशक्ति अभाव तथा बिरामीको उच्च चापले कयौं व्यक्तिले उपचार सेवाबाट बञ्चित हुनु परेको छ। सेती अस्पताल प्रदेश सरकार मातहात आएपछि सेवा सुधार हुने अपेच्छा गरिएको थियो। तर, अस्पतालमा प्रदेश सरकारका ७ जना चिकित्सक मात्रै कार्यरत छन्। अस्पताल विकास समिति, करार र दैनिक ज्यालादारीमा नियुक्त न्यून जनशक्तिको भरमा प्रदेश सरकारले सेती अस्पताल चलाइरहेको छ।

सेतीमा प्रायः बिरामीले उपचार पाउन समस्या हुने गरेको गुनासो बढ्न थालेको छ। सेती अस्पतालको उपचार सेवा पाउन निकै सास्ती खेप्नु परेको दार्चुलाको लेकम गाँउपालिका वडा नम्बर ४ का गणेश रामले गुनासो गरे। उनले शनिवार उपचार गर्न आए पनि आकस्मिक कक्षमा शय्या पाउन निकै बेर कुर्नु परेको गुनासो गरेका हुन्। सेती प्रादेशिक अस्पतालको प्रसूति विभागसहित केही अन्य विभाग २०४० सालमा निर्मित जीर्ण भवनमा छन्।

केही वर्ष अगाडि बनेको भवनमा आकस्मिक कक्ष सहितका बाँकी विभाग सञ्चालनमा छन्। सेतीको आकस्मिक कक्षमा बिरामीका लागि जम्मा २२ शय्या छुट्याइएको छ। जसअनुसार आकस्मिक कक्षमा एक पटक २२ जना बिरामी राख्न सकिन्छ। तर, बिरामी भएर अस्पताल गए सेतीको आकस्मिक कक्षमा शय्या पाउन समस्या हुने गरेको छ। सेतीको आकस्मिक कक्षमा एक शय्यामा दुईदेखि तीन जना बिरामी राखेर उपचार गराउनुपर्ने बाध्यता छ।

सेती अस्पतालको आकस्मिक कक्षमा शय्या पाउनै मुस्किल हुने गरेको धनगढी–३ मिलनचोकका अमित दाहालले बताए। ‘बाजेको दम बढेर अक्सिजन लागएर अस्पतालमा ल्याएका थियौँ। तर, शय्या अभावले अस्पताल बाहिर रिक्सामा बसाल्नु पर्यो,’ उनले भने, ‘केही बेर कुर्दा पनि शय्या नपाउने भएपछि बाहिरबाट बेञ्च लिएर बाजेलाई राख्नु पर्यो। अस्पतालको आकस्मिक कक्षमा शय्या थप गर्न सरकारले काम गर्नुपर्छ।’

समिर जस्तै आकस्मिक कक्षमा रहेका अन्य बिरामीका आफन्तले पनि अस्पतालमा शय्या अभाव हुँदा भुइँमा बस्नु परेको, एकै शय्यामा तीनरचार जना बिरामी बस्नु परेको गुनासो गरेका छन्। तर, आकस्मिक कक्षमा शय्या अभाव मात्रै नभएर चिकित्सक, स्टाफ नर्स र अन्य सहायक स्वास्थ्यकर्मीको समेत अभाव हुँदा उपचार गर्न कठिन भएको अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर समिर खानले बताए।

‘हामीसँग आकस्मिक कक्षमा २२ वटा शय्या मात्रै छ। बिरामीको संख्या त्योभन्दा बढी हुन्छ। शय्या अभाव र जनशक्ति अभावले आकस्मिक कक्षमा उपचार गर्न निकै समस्या हुने गरेको छ,’ उनले भने, ‘आकस्मिक कक्षको अवस्था सबैले देख्नु भएको छ। जनशक्ति र शय्या अभावले समस्या भएको हो। हामीले सक्ने जति गरिरहेका छौँ।’ ३२ वर्ष अगाडि नेपाल सरकारबाट ५० शय्यानको स्वीकृत दरबन्दी पाएको सेती अस्पतालको प्रदेश सरकार मातहत आएपछि पनि स्तरवृद्धि गरिएको छैन।

५० शय्याका लागि प्राप्त दरबन्दीमध्ये केही दरबन्दी खाली रहेका छन्। सात जना स्थायी चिकित्सक मात्रै कार्यरत रहेको सेतीमा संघ सरकारबाट काजमा आएका ८ जना विशेषज्ञ डाक्टरको काज फिर्ता भएको छ। जनशक्ति र भवनको अभाव खेपी रहेको सेती अस्पतालमा तुरुन्तै दुई सय शय्याको ‌ओएण्डएम गरेर सेवा सुधार गर्ने मन्त्रालयले तयारी थालेको सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले बताए।

‘सेतीमा उपचार पाउन भइरहेको समस्या समाधान गर्न अस्पतालाई दुई सय शय्यामा स्तरवृद्धि गराउने गृहकार्य अगाडि बढेको छ,’ उनले भने, ‘भदौ महिनाभित्रै सेतीमा केही सुधार ल्याएर सर्वसाधारणले सहजै उपचार पाउने व्यवस्था मिलाइने छ।’
सुदूरपश्चिमको सबैभन्दा बढी उपचार सेवा उपलब्ध रहेको सेती अस्पतालको स्तरवृद्धि नहुँदा बिरामीले उपचार नपाउने समस्या छ भने अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले आलोचना खेप्नु परेको छ। अस्पतालको स्तरवृद्धि गर्ने प्रतिवद्धता पटक–पटक जनाउने प्रदेश सरकारले अहिलेसम्म सेवा विस्तार र सुधारका लागि ठोस कदम भने चाल्न सकेको छैन।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस