सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा जारी लोकसभा निर्वाचनमा तेस्रो चरणको मतदान हुँदै

। फोटो स्रोत ।
२०७६ वैशाख १०, ०२:४४ खबर संवाददाता

भारतमा जारी लोकसभा निर्वाचनअन्तर्गत आज तेस्रो चरणको मतदान भइरहेको छ। १३ राज्य र दुई केन्द्रशासित प्रदेशका १ सय १७ लोकसभा सिटका लागि मतदान भइरहेको हो। गुजरातका २६, केरलाका २०, कर्नाटकका १४, महाराष्ट्रका १४, गोवाका २, असमका ४, बिहारका ५, ओडिसाका ६, उत्तर प्रदेशका १०, छत्तीसगढका ७, पश्चिम बंगालका ५, दमन–दीवको १, दादर नगर हवेलीको १ र जम्मू–कस्मिरको १ सिटका लागि मतदान भइरहेको हो। 

१ सय १७ सिटका लागि १ हजार ६ सय १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। यीमध्ये राष्ट्रिय दलका ३ सय १४, क्षेत्रीय दलका ७६, मान्यता प्राप्त नगरेका दलका ४ सय ९२ र स्वतन्त्र ७ सय १२ जना उम्मेदवार मैदानमा छन्। दुई प्रमुख पार्टी भारतीय जनता पार्टी (भाजपा) र कांग्रेसका अध्यक्षको चुनावी क्षेत्रमा पनि आज मतदान भइरहेको छ। कांग्रेस अध्यक्ष राहुल गान्धी यो चरणमा केरलको वायनाड संसदीय क्षेत्रबाट चुनावी मैदानमा छन्। 

यस्तै भाजपा अध्यक्ष अमित शाह गुजरातको गान्धीनगरबाट चुनावी मैदानमा उत्रिएका छन्। राहुल गान्धी केरलको वायनाडबाट चुनावी प्रतिस्पर्धामा रहेको यो पहिलोपटक हो। यहाँको जित राहुलका लागि मात्रै नभएर कांग्रेस पार्टीकै लागि महत्वपूर्ण हुने आंकलन गरिएको छ। प्रधानमन्त्री मोदीको गृह राज्य गुजरातमा पनि आज चुनाव भइरहेको छ।

मोदीको चुनावी क्षेत्र वाराणसीमा भने आज मतदान छैन। सात चरणमा हुने यसपटकको चुनावमा ९० करोड भन्दा बढी मतदाताले ५४३ लोकसभा सिटका लागि मतदान गर्दै छन्। 
 

कमेन्ट लोड गर्नुस