सुदूर नेपाललाई विश्वसँग जोड्दै

बीमा गरेकालाई अस्पतालमा छुट्टै ‘बीमा ओपीडी’

२०७६ वैशाख १०, ०२:१५

निशुल्क स्वास्थ्य बीमा गरेका बिरामीका लागि भरतपुर अस्पतालले छुट्टै बहिरङ्ग सेवा विभाग(ओपीडी) स्थापना गरेको छ। चितवनमा बीमा गर्नेको संख्या बढे पनि उपचार व्यवस्थापनमा सहजता हुन नसक्दा समस्या देखिँदै आएको थियो। बीमा गरेका बिरामीको चाप बढ्दै गएपछि सहज व्यवस्थापनका लागि छुट्टै ओपीडी स्थापना गरिएको अस्पतालले जानकारी दिएको छ।

अस्पतालमा बीमा गरेका बिरामीको चाप बढ्दै गएको र समयमा उपचार नपाएको गुनासो आएका कारण छुट्टै ओपीडी खोलेर सेवा दिन थालिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेट डा कृष्ण पौडेलले बताए। टिकट काट्नेबित्तिकै सेवा दिन सकिनेगरी ओपीडी स्थापना गरिएको बताउँदै उहाँले बीमाको ओपीडीमा हरेक दिन ४ जना चिकित्सकसहितको टोली रहने व्यवस्था मिलाइएको जानकारी दिए। हरेक दिन बिहान ९ बजेदेखि ४ बजेसम्म सेवा दिन सक्नेगरी ओपीडी खोलिएको बताउँदै उनले सामान्य परीक्षण र आवश्यकता अनुसार रिफर गर्नेगरी वैशाख २ गतेदेखि अस्पतालले छुट्टै ओपीडी खोलेको बताए। पछिल्लो समय बीमाका बिरामीलाई प्रथम सेवा विन्दुको रुपमा प्राथामिक स्वास्थ्य केन्द्र र सरकारी अस्पताल तोकिएकोले सरकारी अस्पतालमा बिरामीको भिड लाग्ने गरेको छ। निस्शुल्क स्वास्थ्य बीमा अन्तर्गत देशका ४२ जिल्ला मध्ये चितवनमा सबैभन्दा बढी संख्यामा बीमा गरेका छन्। बीमाप्रतिको आम नागरिकको आकर्षण बढेको भएपनि उपचार पद्धतिमा सहज व्यवस्थापन हुन नसक्दा समस्या बढ्दै गएको हो।

स्वास्थ्य बीमा बोर्ड चितवनकी प्रमुख निर्मला भट्टराईका अनुसार बीमा कार्यक्रम लागु भएका ४२ जिल्लामध्ये चितवन उत्कृष्ट जिल्लामा परेको छ। दुई लाख भन्दा बढीले स्वास्थ्य बीमा गरेको जानकारी दिँदै उनले स्वास्थ बीमाप्रति आम नागरिकको आकर्षण बढेको बताए। स्वास्थ्य बीमा कार्यक्रमको उद्देश्य राम्रो भएपनि सेवा दिने क्रममा औषधीको मूल्यमा एकरुपता हुन नसक्नु, अस्पतालमा बढ्दै गएको विमारीको चापको व्यवस्थापन सहज रुपमा हुन नसक्नुले पछिल्लो समय समस्या देखिएको हो। स्वास्थ्य बीमा गरेपछि अस्पतालमा सेवा लिन जाँदा उपचारमा सहजता नभएको र औषधी खरिद गर्दा एउटै औषधीको फरक फरक मूल्य पर्ने गरेको गुनासो बढेको छ। 

बीमा भएका र नभएका बिरामीमा विभेद नगरिएको बताउँदै भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बिरामीलाई समान व्यवहार गरी औषधी उपचारको सेवा दिइरहेको बताए। बीमा गरेका बिरामी अस्पतालमा आएपछि सफ्टवेयर प्रणालीमा बीमा कार्ड अपडेट गर्नुपर्ने र अभिलेख राख्नुपर्ने भएकाले केही समय लागे पनि अन्य उपचार सेवामा ढिलाई गर्ने फरक गर्ने भन्ने कुरामा सत्यता नभएको बताए। जिल्लामा स्वास्थ्य बीमा गर्नेहरुको उपचारका लागि प्रथम सेवा विन्दुको रुपमा जुटपानी प्रथामिक स्वास्थ्य केन्द्र,खैरहनी प्रथामकि स्वास्थ केन्द्र, शिवनगर प्रथामिक स्वास्थ्य केन्द्र, रत्ननगर र बघौडा अस्पताल रहेको छ। यी प्रथम सेवा विन्दुमा पुगेर रिफर भएपछि सरकारी अस्पताल र नीजी अस्पताल दुई ठुला मेडिकल कलेजमा उपचार गर्न पाउने व्यवस्था रहेको छ। भरतपुरमा आँखा अस्पतालमा सिधै जान सकिने व्यवस्था रहेको छ। 

बीमा गराउनका लागि चितवन जिल्लामा १२४ जना अभिकर्ताको रुपमा दर्ता सहयोगी क्रियाशील रहेका छन्। बीमा गराउँदा पाँचजनासम्मको परिवारलाई वार्षिक दुई हजार पाँच सय  र त्योभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति ४२५ थप गर्नुपर्ने व्यवस्था रहेको छ। अहिले बीमा गरेका परिवारले पाँचजनाको वार्षिक रुपमा ५० हजारसम्मको उपचार गर्दा रकम तिर्नु पर्दैन। त्यसैगरी व्यक्ति थप भएमा प्रतिव्यक्ति १० हजारसम्मको बीमा रकम थपिने छ। स्वास्थ्य बीमा गर्नेले स्वास्थ्य परीक्षण, प्रयोगशाला, शल्यक्रिया, औषधिलगायत बीमाले समेट्ने गर्छ। साभार - उज्यालोअनलाइन
 

कमेन्ट लोड गर्नुस