सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी पुगेर मोहन विक्रम सिंहले भने प्राप्त उपलब्धि गुम्ने खतरा बढ्यो

२०८० भदौ ९, ०४:५२ खबर संवाददाता

धनगढीः नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले २०६२÷६३ को जनआन्दोलनपछि प्राप्त भएको उपलब्धि गुम्ने खतरा बढेको बताएका छन्। सिंहले हिन्दुवादी, राजावादी र भारतीय संस्थापन पक्षको कारण गणतन्त्र र संघीयता गुम्नसक्ने सम्भावना रहेको दाबी गरेका छन्।

यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि यस मुद्दामा प्रतिगमनतर्फ लागको सिंहले आरोप लगाएका छन्। ‘राजावादी, प्रतिगामी हिन्दुवादी र विदेशी शक्तिहरुले गणतन्त्र र धर्मनिरपेक्षतामाथि हमला गरिरहेका छन्। संघीयताको खारेजी तथा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि सबैले एकजुट हुनुपर्छ,’ महामन्त्री सिंहले भने।

प्रदेशस्तरीय पार्टी कार्याकर्ता प्रशिक्षण कार्यक्रममा धनगढी आइपुगेका महामन्त्री सिंहले नेपालभित्र मात्र नभइ विदेशीहरु विशेषगरी भारतको नीतिका कारण पनि गणतन्त्र गम्भीर संकटमा परेको बताए। उनले भने, ‘भारतको सत्ताधारी पार्टीहरु खुला रुपमा नेपाललाई हिन्दूराष्ट्र बनाउने गतिविधिमा संलग्न देखिएका छन्। हिन्दु धर्मगुरूहरू धर्मनिरपेक्षताको खारेजी र राजतन्त्रको पुनर्वाहली होस् भन्ने चाहन्छ्न्। धर्मनिरपेक्षता र गणतन्त्रको रक्षा गर्ने चुनौती बढेको छ।’

नेपालमा पनि राजावादी शक्तिहरु निकै बलिया भएको सिंहले दाबी गरेका छन्। संघीयता खारेज गर्नुपर्ने तर गणतन्त्र र धर्मनिरपेक्षता नेपाली जनताको चाहनामा आएकाले यी दुई उपलब्धिको रक्षा गर्नुपर्ने तर्क सिंहले गरेका छन्। साम्राज्यवादी भारत र अमेरिकाले नेपालमा अस्थिरता उत्पन्न गरेर चीन विरुद्ध गतिविधि गर्ने उदेश्यले काम गरिरहेकाले भारत र अमेरिकाको उदेश्य पूरा हुन नदिन सबैले एकजुट हुनुपर्ने महामन्त्री सिंहले बताएका छन्।

‘सबै मिलेर राजालाई फर्कन दिनु हुँदैन। देशी विदेशी प्रतिगामी शक्ति अहिले राजतन्त्र फर्काउने अभियानमा लागेको छन्। एक पटक प्राप्त भएको उपलब्धि गुम्न नदिन सबै एकजुट हुनुपर्ने बेला भएको छ,’ सिंहले अगाडि भने, ‘संघीयता देशको आवश्यकता नभएकाले अहिलेको अवस्था सिर्जना भएको हो। यो देशले संघीयता धान्न सक्दैन।’ २०१७ साल र ०५९ सालमा राजाले गरेको कू भन्दा अहिलेको अवस्था भिन्न भएकाले सबै गणतन्त्र र धर्मनिरपेक्षतावादी शक्तिहरु एक भएर प्रतिगमनलाई रोक्नुपर्नेमा सिंहले जोड दिए।

कमेन्ट लोड गर्नुस