सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पानी रिचार्ज नहुने समस्या बढ्दो, यस्तो छ विज्ञको राय

२०८० भदौ ९, १०:५४ नारायण अवस्थी

धनगढीः भूमिगत जलस्रोतको भण्डारण र प्रयोगमा सावधानी अपनाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन्। धनगढी उपमहानगरपालिकाले भूमिगत जलस्रोतको पुनर्भरण सम्बन्धित कार्यक्रममा भविष्यमा पानीको हाहाकार हुन नदिन पुनर्भरणका योजना कार्यान्वयन गर्न आग्रह गरिएको छ।

तराई क्षेत्रमा घना बस्ती बढेसँगै भूमिगत पानीको अत्यधिक दोहन हुने भएकाले दीगो पुनर्भरणका लागि सरकारले नीतिगत र कानून व्यवस्था गर्नुपर्ने भूमिगत जलस्रोत विज्ञ मोतिलाल रिजालले बताए। ‘तराई क्षेत्रमा भूमिगत पानीको अधिक प्रयोग र पुनर्भरणको कुनै योजना नहुँदा भविष्यमा पानीको संकट आउने जोखिम छ। पानीको दोहन मात्रै भइरहेको अहिले अवस्थालाई सम्बोधन गर्न स्थानीय तह र प्रदेश सरकार मिलेर भूमिगत पानीको उपभोग र पुनर्भरणका लागि मिलेर काम गर्नु आवश्यक छ।’

धनगढी उपमहानगरपालिकाले भने यो वर्षबाट भूमिगत जलस्रोतको पुनर्भरणका लागि काम गर्ने नीति तय गरेको छ। धनगढी नगर क्षेत्रको भूमिगत पानीको भण्डार कायम राख्न उपमहानगरले आवश्यक काम थाल्ने नीतिगत निर्णय गरिसकेको छ। भूमिगत पानीको सञ्चितीमा कमि आएर खानेपानीको समस्या नआओस् भनेर धनगढी उपमहानगरले भूमिगत पानीको भण्डारको दीगो उपभोग र प्राकृतिक तथा कृत्रिम पुनर्भरणका लागि हरेक घरमा सोकपिट बनाउनुपर्ने भूमिगत जलस्रोत विज्ञ रिजालले बताए।

सुदूरपश्चिममा वर्षमा औसत १ सयदेखि एक सय ५० दिन पानी पर्छ। वर्षा र खोलानालाको पानीले भूमिगत पानीको पुनर्भरण गर्न सहयोग गर्छ। पानी पुनर्भरण एक सयदेखि एक सय ५० दिनसम्म हुने र बाँकी समय पानी दोहन मात्रै हुने गरेको छ। जमिन भित्रको पानी प्राकृति मुल, ह्याण्डपम्प, ट्युबवेल, कुवा तथा खानेपानीका लागि निरन्तर प्रयोग भइरहेको छ। बढी जनघनत्व भएको धनगढीमा पुनर्भरणभन्दा भूमिगत पानीको दोहन बढी छ।

पुनर्भरणका लागि पोखरी, तलाउ र पानी सोस्ने खाल्टो बनाउने निति उपमहानगरले लिएको नगर उपप्रमुख कन्दकलाकुमारी रानाले बताइन्। ‘हरेक घरबाट निस्कने पानी तथा वर्षाको पानीलाई पुनर्भरणका लागि प्रयोग गर्ने नीति लिएको छ। हामीले भूमिगत जल भण्डारणको अवस्था सुधार गर्न काम गर्ने नीति लिएका छौँ। उपमहानगरले हरेक घरबाट निस्कने र वर्षाको समयमा छतबाट आउने पानी भूमिगत पानीको सतह बढाउन पानी सोस्ने खाल्डो बनाउनुपर्ने नियम लागु गरेको छ।

अब बन्ने घरमा सोकपिट बनाउनु अनिवार्य बनाएका छौँ,’ उपप्रमुख कन्दकलाकुमारी रानाले बताए। अहिले पनि धनगढीको विभिन्न टोल तथा बस्तीहरूमा गाडिएका ह्याण्डपम्पमा पानी आउन छोडेको छ भने खानीपानी योजनाले जोडेका बोरिङमा पनि पानी कम आउन थालेको छ। धनगढीमा घना बस्तीको विकाससँगै वर्षाको पानी रिचार्ज नहुने तर भूमिगत पानीको अत्यधिक दोहन बढेको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस