सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा विद्यालयका लेखापाल कुटेको आरोपमा चार जना पक्राउ, बाँकी सबै फरार

२०८० भदौ ८, ०१:४३ खबर संवाददाता

कञ्चनपुरः आइतबार भीमदत्त नगरपालिका–१० जिमुवास्थित शिद्धनाथ माध्यामिक विद्यालयमा भएको घटनामा विद्यालयका लेखापाललाई कुटपिटको आरोप लागेका ८ मध्ये ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीका अनुसार किटानी परेकामध्ये चार जना पक्राउ परेका छन्।

स्थानीय नन्दी नाथ, आशिष टमाटा, करन ओखेडा र दीर्घराज पाण्डेयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न करन मल्ल, मनिष विष्ट, मनोज तिरुवा र शुक्लाफाँटा नगरपालिकाका दीपक भण्डारी फरार रहेको र उनीहरुको खोजी भइरहेको डिएसपी डाँगीले बताए। प्रहरीले पक्राउ परेका र फरार रहेकाहरुलाई ज्यान मार्ने उद्योगमा अनुसन्धान गरी मुद्दा चलाउने तयारी गरिरहेको छ।

आइतबार विद्यालयका लेखापाल विरेन्द्रप्रसाद जोशीले कक्षा १० मा अध्ययनरत १ छात्रामाथि यौनदुर्व्यवहार गरेको आरोप लागेपछि अभिभावक, स्थानीय र विद्यार्थी आन्दोलित भएका थिए। कुटपिटबाट लेखापाल जोशी घाइते भएका छन्। उनको अहिले धनगढीस्थित निसर्ग अस्पतालको सघन उपचारकक्ष (आईसीयू)मा उपचार भइरहेको छ। त्यस्तै लेखापाल जोशीविरुद्ध पनि किटानी जाहेरी परेको छ। उनको प्रहरी निगरानीमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस