सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा नागरिकता बनाउने कम, राहदानी बनाउने धेरै

२०८० भदौ ८, ११:३० खबर संवाददाता

बैतडी: बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको सङ्ख्या घटेको छ भने राहदानी बनाउनेको सङ्ख्या बढेको पाइएको छ। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क हेर्दा नागरिकता बनाउनेको सङ्ख्या घटेको र राहदानी बनाउनेको सङ्ख्या बढ्दै गएको हो।

गत आर्थिक वर्ष २०७९÷८० मा छ हजार तीन सय ३८ जनाले नागरिकता बनाएका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। यसमा तीन हजार तीन सय ९६ पुरुष र दुई हजार नौ सय ४२ महिलाले नागरिकता बनाएका हुन्।  जसमध्ये १२ जनाले वैवाहिक अङ्गीकृत नागरिकता बनाएका छन्। यस्तै पाँच जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन्। 

आर्थिक वर्ष २०७८÷७९ मा आठ हजार पाँच सय १४ जनाले नागरिकता बनाएका थिए। यो एक वर्षको अवधिमा चार हजार दुई सय ५७ पुरुष र चार हजार दुई सय ५७ महिलाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन्। यस्तै २० जनाले  वैवाहिक अङ्गीकृत नागरिकता बनाएका छन्। यस्तै चार जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन्।

आव २०७७÷७८ मा पाँच हजार पाँच सय ६४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए भने छ जनाले नागरिकताको प्रमाणपत्र परित्याग गरेका थिए।  यसैबीच यहाँबाट राहदानी बनाउनेको सङ्ख्या ह्वात्तै बढेको छ। गत वर्ष २०७९÷८० मा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार छ सय ८० जनालाई राहदानी वितरण गरिएको छ। जसमा दुई हजार चार सय ९६ पुरुष र एक सय ८४ महिला रहेका छन्।  यो वर्ष द्रुत सेवाका लागि एक जनाको पनि सिफारिस गरिएको छैन।
 
यस्तै आव २०७८÷७९ मा छ सय २२ जनालाई राहदानी वितरण गरिएको छ । यसमा पाँच सय ३५ पुरुष र ६४ महिलाले राहदानी बनाएका हुन्। यसका साथै द्रुत सेवाका लागि आठ सय छ जनाले राहदानीको सिफारिस गरिएको जनाएको छ।  आव २०७७÷७८ मा यहाँका तीन सय ९२ जनालाई राहदानी वितरण गरिएकामा चार सय ३१जनालाई द्रुत सेवाका लागि सिफारिस गरिएको थियो। 

कमेन्ट लोड गर्नुस