सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा केही मान्छे अझै शान्ति खल्बल्याउने कोसिसमा छन्: रेशमलाल चौधरी

२०८० भदौ ७, ०२:३९ नारायण अवस्थी

धनगढी: टीकापुर घटनाका मुख्य आरोपित भनिएका रेशमलाल चौधरी अचेल टीकापुरमा सामाजिक  सद्भाव बढाउन प्रयासरत छन्। २०७२ भदौ ७ गते टीकापुरमा घटनाको मुख्य योजनाकार भनिएका रेशमलाल जेलमुक्त भएपछि सामाजिक सद्भाव फैलाउन मिहेनत गरिरहेका छन्। आठ वर्ष अगाडि भदौ ७ गते ८ जना प्रहरी र एक बालकसहित ९ जनाको ज्यान जाने गरी घटेको टीकापुर घटनाले पहाडी र थारु समुदाय बिच तिक्तता पैदा गरेको थियो। अखण्ड सुदूरपश्चिम र थरुहटको आन्दोलन चलिरहेका बेला टाढाका मान्छेका कारण अप्रिय घटना घटेको दाबी रेशमलालले गरेका छन्। 

दोस्रो संविधान सभाबाट नयाँ संविधान बन्ने क्रममा सुदूरपश्चिममा अखण्ड सुदूरपश्चिम र थरूहटको आन्दोलन भएको थियो। थारु समुदायले कैलाली र कञ्चनपुरसहित नवलपरासीसम्म थरुहट प्रदेश हुनुपर्ने माग राख्दै आन्दोलन गरेका थिए।

यस्तै, सिङ्गो सुदूरपश्चिम एक प्रदेश हुनुपर्छ भन्ने आन्दोलन पनि सुदूरपश्चिममा भएको थियो। २०७२ भदौ ७ गते थरुहट पक्षधरले टीकापुरमा गरेको हिंसात्मक प्रदर्शनमा परेर प्रहरी वरिष्ठ उपरीक्षकसहित ८ जना प्रहरी र एक जना नाबालकको ज्यान गएको थियो। यो घटनाको कारण टीकापुरमा निकै असुरक्षा बढेको थियो भने थारु र पहाडी समुदायमा तिक्तता बढेको थियो। टीकापुर घटना थारु र पहाडी समुदायको चाहनाले भन्दा पनि टाढाका मान्छेले दुई समुदायका बिच ढुङ्गा हानेर शान्ति खल्बल्याउने काम गरेको रेशमलाल चौधरीले बताएका छन्।

बिगतमा बाह्य मान्छेहरूले टीकापुरको भावनामा खेल्ने प्रयास गरेकाले अप्रिय घटना घटेको रेशमालले बयान दिएका छन्। अहिले पनि मिलेर बसेको दुई समुदाय बिच वैमनश्यता उत्पन्न गराउने ठुलो झुण्ड सक्रिय रहेको रेशमलालले बताएका छन्।
टीकापुर घटनामा परेर दिवंगत भएका बालक टेकबहादुर साउँदको शालिक अनावरण गर्दै रेशमलाल चौधरीले २०७२ भदौ ७ गतेको घटनाले दुई चार वर्ष पहाडी र थारु समुदायमा बेमेल भए पनि अब कुनै किसिमको तिक्तता नहुने दाबी गरेका छन्। टीकापुरको विकास र समृद्धिका लागि थारु र पहाडी मिलेर बसेका छन् भन्ने जीवन्त सन्देश दिन सबैले प्रयास गर्नुपर्ने  रेशमलाल चौधरीको बताएका छन्।

टीकापुरमा अशान्ति होस् भन्ने चाहना अझै पनि केही व्यक्तिमा रहेकोे रेशमलाल चौधरीले बताएका छन्। टीकापुरको समुदाय फुटेको छैन जुटेको छ भन्ने सन्देश दिन बिगतको तिक्तता बिर्सेर टीकापुरको विकासको सपना बोकेर सबैले काम गर्नुपर्ने रेशमलालले बताएका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस