सुदूर नेपाललाई विश्वसँग जोड्दै

यौन दुर्व्यवहार आरोपित शिक्षकमाथि कुटपिट गर्ने ८ जना विरुद्ध जाहेरी

२०८० भदौ ५, ०७:३५ खबर संवाददाता

धनगढीः छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षक वीरेन्द्र जोशीमाथि कुटपिट भएको छ। जोशीले कक्षा १० मा अध्ययनरत एक छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको भन्दै विद्यर्थीहरू आइतवार आन्दोलित भएका थिए। प्रहरीले जोशीलाई हतकडी लगाएर कार्यकक्षबाट बाहिर ल्याउने क्रममा विद्यालयभन्दा बाहिर एक समूहले उनीमाथि निर्धात कुटपिट गरेको हो।

प्रहरी नियन्त्रणमा रहेका व्यक्तिमाथि मरणासन्न हुने गरी कुटपिट गरिएको भन्दै विद्यालय, शिक्षक–शिक्षिका र केही स्थानीयले सो कार्यको विरोध गरेका छन्। कसैले आरोप लगाएकै भरमा प्रमाणित नहुँदै कुटपिट भएपछि उनीहरूले उक्त कार्यको विरोध गरेका हुन्।

विद्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी नियन्त्रणमा रहेका शिक्षक जोशीमाथि कुटपिट हुनु निन्दनीय भएको जनाएको छ। विद्यालय हाताभन्दा एक सय ५० मिटर पर रहेको प्रहरीको भ्यानसम्म भिडले लखेटी–लखेटी कुटपिट गर्दासमेत प्रहरी मूकदर्शक बनेको विद्यालयको आरोप छ। विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन गरेर दोषीउपर कारबाहीको माग गरिएको छ।

विद्यालयका प्रधानाध्यापक कृष्णसिंह बोहोराले एक छात्राले आरोप लगाउँदैमा प्रहरी नियन्त्रणमा रहेका शिक्षकमाथि अमानवीय हिसाबले कुटपिट गरेको हुँदा विद्यालयका शिक्षक, कर्मचारीको बैठकले विद्यालयमा पठनपाठनको वातावरण नहुँदासम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए। 

कुटपिट गरिएका शिक्षक जोशीका परिवारले ८ जना विरुद्ध प्रहरीमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन्। कञ्चनपुर प्रहरीका अनुसार घाइते शिक्षक जोशकी पत्नी भागरथी भट्ट जोशीले कुटपिटमा संलग्न विरुद्ध किटानी दर्ता गराएका हुन्।

लेखापाल जोशीमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि विद्यालय पुगेको भीडले उनीमाथि कुटपिट गरेको थियो। कुटपिटमा गम्भीर घाइते जोशीको घाइते जोशीको महाकाली अस्पतालमा उपचार हुन नसकेपछि धनगढीको निसर्ग अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सीताराम विष्ट नेतृत्वको प्रहरी टोलीले कार्यकक्षबाट नियन्त्रण लिएर हत्केडी लगाएर बाहिर ल्याएपछि उनीमाथि इटा, ढुङ्गा, हेल्मेट प्रहार गरी कुटपिट गरिएको थियो। प्रहरीले नियन्त्रणमा नियन्त्रणमा लिएर पनि कुटपिटबाट बचाउन नसकेको भन्दै चौतर्फी आलोचना हुन थालेको छ।
 

कमेन्ट लोड गर्नुस