सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–दीपायल फास्ट ट्रयाकः आदेश विना रुख काटेको भन्दै वनद्वारा १० लाख क्षतीपुर्ती माग

२०७६ वैशाख ९, ०६:२९ नवराज पनेरु

लामो समयदेखि अलपत्र परेको धनगढी –दिपायल द्रुत मार्गको निर्माण अगाडी बढाउन अव झनै चुनौती थपिएको छ। एकवर्ष सम्म रुख कटानीको आदेश पाईएको छैन् भने पटक–पटक स्वामित्व विवाद हुँदै आएकोमा कटानी आदेश विना नै रुख काटेको फेला परेपछि निर्माण अगाडी बढाउन चुनौती थपिएको हो। द्रुत मार्गमा वातावरणीय प्रभाव मुल्याङकन र कटानी आदेश विना नै रुख काटिएको फेला परेको हो। द्रुत मार्गको कैलाली खण्डमा मात्रै ३९ वटा रुख आदेश विना काटेको फेला परेको हो। सडक खण्ड अन्तरगत राष्ट्रिय वनमा ३४ र भवानी सामुदायिक वनमा ५ वटा रुखहरु कटान आदेश विना नै काटेर काठ गायव गरिएको छ। जिल्ला वन डिभिजन कार्यालय कैलालीका प्रमुख अमर बुलनले सडक निर्माणका लागि रुख कटानीको आदेश नमागेर ३९ वटा रुख काटिएको फेला परेको बताए। 

जिल्ला वन डिभिजन कार्यालय र मातहतका नियकाले लामो समय सम्म गरेको अध्ययनपछि ३९ रुख काटेर २ हजार १ सय ४९ क्युफिट काठ क्षती भएको दावी गरिएको हो। उक्त काठ १० लाख २ हजार ३ सय बराबरको हुन आउने भएकाले प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय हुँदै वन विभागलाई प्रतिवेदन बुझाईएको छ। विभागले द्रुत मार्ग कार्यान्वयन गरिरहेको सडक विभागलाई १० लाख क्षतीपुर्ती माग गरेको डिभिजन प्रमुख बुलनले बताए। यस्तै द्रुत मार्ग अन्तरगतको कैलाली खण्डमा अन्य रुख काटेर सडक किनारमै राखिएको पनि फेला परेको छ। ति रुखहरुलाई काठदाउरामा परिणत गरेर घाटगद्वीमा राख्नपर्ने माग पनि वन डिभिजन कार्यालय कैलालीको प्रतिवेदनमा उल्लेख गरिएको छ। क्षतीपुर्ती तिर्दै सडक किनारमा राखिएका रुखहरुलाई काठदाउरामा परिणत गरेर घाटगद्वीमा राखे मात्रै सडक निर्माणका लागि अनुमती दिईने डिभिजन प्रमुख बुलनले बताए। 

सडक क्षेत्रमा कैलाली तर्फ सात सय ७९ वटा रुखहरु काट्न पर्ने देखिएको छ। पहिले गरिएको वातावरणीय प्रभाव मूल्याङकनमा त्रुटी भेटिएपछि पुरक वातावरणीय प्रभाव मुल्याङकनको कार्य सुरु गरिएको थियो। तर सडक क्षेत्रमा पर्ने रुखहरु अनुमती विना काटिएको फेला परेपछि रुख कटानीको विषय किनारा नलागे सम्म कुनै प्रक्रिया अगाडी नबढाउन संघीय वन मन्त्रालयले आदेश नै गरेको छ। धनगढी–दिपायल द्रुत मार्गमा सुरुङ मार्ग बनाउने बजेट भाषणमा उल्लेख भएपनि झण्डै एक वर्षदेखि रुख कटानीको फाईल अड्किएको छ। सडक निर्माण झण्डै एक बर्षदेखि ठप्प छ। 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस