सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफूमाथि कामै गर्न नसकेको आरोप लाग्यो : प्रहरी महानिरीक्षक खनाल

। फोटो स्रोत ।
२०७६ वैशाख ९, ०५:३६ खबर संवाददाता

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूमाथि कामै गर्न नसकेको आरोप लागेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। प्रहरी महानिरीक्षक खनालले निर्मला पन्त हत्याकाण्डमा कमजोरी गर्ने प्रहरीमाथि कारबाही गर्दा पनि आफूले सुख नपाएको गुनासो पनि गरे।

आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्मला हत्याकाण्डको अनुसन्धान भैरहेको स्पष्ट पारे।

महानिरीक्षक खनालले नेपाल प्रहरीले आफ्नो अनुसन्धानको कामलाई इमान्दारिताका साथ अघि बढाएको दाबी पनि पनि गरे। उनले आफूमाथि कामै गर्न नसकेको गुनासो आउनु न्यायोचित र तर्कसम्मत नहुने बताए।

प्रहरी महानिरीक्षक खनालले विध्वंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जो कोहीलाई पनि कारबाही गर्ने चेतावनी दिए। उनले विप्लव समूहका ३ सय २६ जनालाई नियन्त्रणमा लिइएको र अन्यलाई पनि नियन्त्रणमा लिई कानुनी कारबाही हुने पनि स्पष्ट पारे।

प्रहरी महानिरीक्षक खनालले हत्या र यौन शोषणको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध प्रमाण नपुगेको कारण कारबाही गर्न नसकिएको पनि स्पष्ट पारे।

उनले बम्जनविरुद्ध परेको उजुरीमाथि अनुसन्धान जारी रहेको र प्रमाण पुग्यो भने उनीमाथि कारबाही हुने पनि बताए। प्रहरी महानिरीक्षक खनालले अपराध नियन्त्रणका लागि सहकार्य गर्न पनि नागरिक समाजलाई पुनः अपिल गरेका छन। 

कमेन्ट लोड गर्नुस