हतियारसहित भागेका भारतीय एसएसबीका जवान नियन्त्रणमा

कञ्चनपुरः हतियारसहित भागेका भारतीय एसएसबीका जवान १४ घण्टापछि फेला परेका छन्। कञ्चनपुरको सीमावर्ती क्षेत्रमा हतियारसहित नेपाल छिरेको आशंका गरिएका भारतीय एसएसबीका जवान भारतीय भुमीमै फेला परेका हुन्। हतियारसहित बेपत्ता भारतीय सुरक्षा बल (एसएसबी) का जवान १४ घण्टापछि भारतीय भूमीमै फेला परेको खबर नेपाल प्रहरीले प्राप्त गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले नेपाल प्रवेश गरेको आशंका गरिएका जवान भारतीय भूमीमै फेला परेको खबर प्राप्त भएको बताए। भारततर्फ मेलाघाटमा रहेको एसएसबीको कम्पनीबाट आइतबार राति १० बजेतिर हतियारसहित फरार जवान सोमबार दिउँसो जंगलमा भेटिएको नेपाल प्रहरीले जनाएको छ।
राति कम्पनीबाटै हतियारसहित जवान बेपत्ता भएपछि एसएसबीले नेपालतर्फ भाग्न सक्ने आशंकामा सीमा क्षेत्रमा निगरानी र नेपाली भूमिमा खोजीका लागि सशस्त्र प्रहरीलाई खबर गरेको थियो। सशस्त्र प्रहरी र जनपद प्रहरीले दोधारा–चाँदनीको नेपाली सीमा सिल गरेर नाकामा निगरानी गरेको थियो। तर फरार जवानलाई अहिले भारतीय डिआइजीले नियन्त्रणमा लिइसकेका छन्।

