सुदूर नेपाललाई विश्वसँग जोड्दै

सात बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश स्तरीय शिक्षा सम्मेलन

२०८० भदौ ३, ०८:१८ खबर संवाददाता

धनगढीः सात बुँदे धनगढी घोषणापत्र जारी गर्दै सुदूरपश्चिम प्रदेश स्तरीय समावेशी र गुणस्तरीय शिक्षा सम्मेलन आइतबार धनगढीमा सम्पन्न भएको छ। रुडुकको आयोजनामा समावेशी र गुणस्तरीय शिक्षा तथा बालबालिकाको क्षेत्रमा बजेटको अवस्थाबारे प्रदेशस्तरीय सम्मेलन भएको हो।

रुडुकका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाको अध्यक्षता र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको आथित्यतामा सम्पन्न सम्मेलनले सात बुँदे धनगढी घोषणापत्र जारी गरेको छ। घोषणापत्रमा प्रदेश र स्थानीय सरकारमार्फत शिक्षामा हाल भइरहेको लगानीलाई पुनरावलोकन गरी विशेष आवश्यकता भएका बालबालिकालाई समावेशी गुणस्तर शिक्षा प्रदान गर्न एवम् शिक्षा क्षेत्रको सुधारका लागि प्रतिवद्ध रहेको उल्लेख छ।

यसैगरी, प्रदेश सरकारको पहलकद्मीमा तयार भइरहेको प्रदेश शिक्षा ऐन, शिक्षा रणनीतिलाई स्वीकृत कार्यान्वयनमा लैजान प्रतिवद्ध रहेको उल्लेख छ । समावेशी शिक्षा प्रवद्र्धनका लागि अपाङ्गता भएका बालबालिकाको स्वीकार्यता, पहुँच, अनुकूल उपलब्धतालाई ध्यान दिदैं विभेदरहित वातावरणमा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन सुनिश्चित्ता गर्नमा सरोकारवाला प्रतिवद्ध रहेको घोषणापत्रमा जनाइएको छ।  

यस्तै, अपाङ्गमैत्री शिक्षण सिकाइ तथा संरचना निर्माणका लागि पहल गर्न सरोकारवाला प्रतिवद्ध छन् । प्रदेश सरकार तथा स्थानीय सरकारले दलित, अपाङ्ग भएका बालबालिकालाई उच्च शिक्षा प्रदानका लागि विशेष पहलकद्मी गर्दै समावेशी तथा गुणस्तरीय शिक्षा प्रवद्र्धनमा प्रतिवद्ध रहेको जनाएको छ । यसका लागि प्रदेशभित्र सञ्चालित विशेष विद्यालय स्रोत कक्षामा कार्यरत शिक्षकलाई आवश्यक तालिम प्रदान गरिने जनाइएको छ।

यसैगरी, विशेष आवश्यकता भएका बालबालिकालाई गुणस्तरीय र समावेशी शिक्षा प्रदान गर्न सुनिश्चितताको लागि विशेष शिक्षा अध्ययन गरेका व्यक्तिलाई विद्यालय शिक्षक नियुक्तिमा प्राथमिकता दिनेमा सहभागी सरोकारवालाले प्रतिवद्धता जनाएका घोषणापत्रमा उल्लेख गरिएको छ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवासहित स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला अन्य निकायको सहभागिता रहेको थियो ।

कमेन्ट लोड गर्नुस