विधि विज्ञान प्रयोगशाला धनगढीबाट १४ हजार नमुना परीक्षण

धनगढीः २०७७ माघमा धनगढीमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना गरियो। लागुऔषध परीक्षण इकाईबाट सुरू भएको प्रयोगशालामा गत वर्षबाट विवादित प्रलेख र बायोलोजी इकाई पनि विस्तार भएको छ। स्थापनादेखि आर्थिक वर्ष २०७९÷८० सम्म आइपुग्दा प्रयोगशालामा एक हजार ७१८ मुद्दाका १४ हजार २३५ नमुना परीक्षण गरिएको प्रयोगशाला प्रमुख वीरेन्द्र चौधरीले बताए।
‘धनगढीको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट तीन वर्षमा १४ हजार बढी लागुऔषध र विवादित प्रलेखका नमुना परीक्षण गरिएको छ। धनगढीमा आर्थिक वर्ष २०७७/७८ को माघमा स्थापना भएको प्रयोगशालामा गत वर्षको असार मसान्तसम्म एक हजार ७ सय बढी मुद्दा परीक्षणका लागि आएका छन्।
विधि विज्ञान प्रयोगशालामा खैरो हेरोईनका मात्रै ८० प्रतिशत बढी मुद्दा परीक्षणका लागि आएका छन्,’ प्रयोगशाला प्रमुख चौधरीले बताए। आर्थिक वर्ष २०७७/७८ मा प्रयोगशालामा २२६ केसका ५३० नमुना परीक्षण गरिएको छ। आर्थिक वर्ष २०७८/७९ मा ५५५ केसका एक हजार ९०९ र आर्थिक वर्ष २०७९/८० मा ९३७ केसका ११ हजार ७९७ नमुना परीक्षण गरिएको चौधरीले बताए।
गत वर्ष लागुऔषधका ९०५ केसका एक हजार ६५४ नमुना, विवादित प्रलेखका ३० केसका १० हजार १४० र बायोलोजीका २ केसमा ३ नमुना परीक्षण गरिएको छ। गत वर्ष प्रयोगशालामा लागुऔषध मध्ये खैरो हेरोईनका ७२५ केस परीक्षण गरिएको छ। यो कुल केसको ८० दशमलव ११ प्रतिशत हो। यस्तै, चरेस/गाँजाको ९३ केस अर्थात् १० दशमलव २७ प्रतिशत र बाँकी अन्य लागुऔषध रहेको प्रयोगशाला प्रमुख चौधरीले बताए।
‘प्रयोगशालामा परीक्षणका लागि प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट केस र नमुना आउने गरेका छन्,’ उनले भने, ‘गत वर्ष लागुऔषधका नमुना कैलालीबाट सबैभन्दा बढी ३४७ प्राप्त हुँदा कञ्चनपुरबाट १५३ नमुना परीक्षणका लागि आएका छन्।
यस्तै, बैतडीबाट ९ नमुना, डडेल्धुराबाट ८, दार्चुला र अछामबाट समान ५/५ नमुना, डोटीबाट ४, बझाङबाट २ र बाजुराबाट १ नमुना परीक्षणका लागि प्रयोगशालामा ल्याइएको छ।’ धनगढीको विधि विज्ञान प्रयोगशालामा सुदूरपश्चिमका अलावा कर्णाली प्रदेशको सुर्खेत, जुम्ला, कालिकोट र जाजरकोट र लुम्बिनी प्रदेशको बाँके, बर्दिया तथा दाङबाट परीक्षणका लागि प्रहरीले नमुना पठाउने गरेको प्रयोगशाला प्रमुख चौधरीले बताए।



