सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई सातादेखि अवरुद्ध रहेको बाजुराको हवाई उडान सञ्चालन

२०८० भदौ २, ०३:५६ खबर संवाददाता

बाजुराः  बाजुरा स्थित कोल्टी विमानस्थलमा शुक्रबारदेखि नियमित हवाई उडान हुन थालेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्न हिमाली तथा पहाडी जिल्लामा निर्देशनपछि बन्द भएको उडान सेवा फेरि सञ्चालन भएको नागरिक उड्डयन कोल्टी शाखाका प्रमुख वीरबहादुर बुढाले बताए। सुदूरपश्चिम र कर्णालीका पहाडी, हिमाली जिल्लामा वर्षायामको समयमा उडान जोखिम हुने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले गत साउन १४ गतेदेखि सुदुर र कर्णालीका पहाडी र हिमाली जिल्लामा हवाई उडानमा रोक लगाएको थियो।

चौतर्फी आलोचना तथा जनगुनासोपछि प्राधिकरणले बिहीबारबाट मौसम अनुकूल भए सुदूर र कर्णालीका विमानस्थलमा १२ः३० बजेपछि पनि उडान भर्न पाइने निर्णय गरेपछि बाजुरामा हवाई उडान सुचारु गरेको नेपाल नागरिक उड्ययन प्राधिकरण कोल्टीका प्रमुख बुढाले बताए। ‘विमानस्थलको ‘अब्जेक्सन आवर’ बिहान ६ बजेदेखि दिउँसो साढे १२ बजेसम्म हो, सुदूर र कर्णालीका सबै विमानस्थलमध्ये जुम्लाको ‘जुम्ला’ विमानस्थल बाहेक सबैको ‘अब्जेक्सन आवर’ ६ बजेदेखि दिउँसो साढे १२ बजेसम्म हो’, उनले भने।

कोल्टी प्राधिकरणका प्रमुख बुढाका अनुसार बाजुराको विकट क्षेत्रमा रहेको ‘कोल्टी’ विमानस्थलबाट दैनिक दुईदेखि बढी नियमित हवाई उडान हुन्छन्। दुई सातादेखि अवरुद्ध रहेको हवाई सेवा सञ्चालनमा आएपछि स्थानीय हर्षित भएका छन्।
 

कमेन्ट लोड गर्नुस