सुदूर नेपाललाई विश्वसँग जोड्दै

दूतावासमार्फत यूएईमा ४४ जनाले लिए एनआरएन कार्ड

। फोटो स्रोत ।
२०७६ वैशाख ९, ०२:५०

नेपाली दूतावास यूएईमार्फत ४४ जनाले गैरआवासीय नेपाली संघ एनआरएनएको सदस्यता कार्ड लिएका छन्। ३ जना महिला र ४१ जना पुरुषसहित जम्मा ४४ जनाले अहिलेसम्ममा एनआरएनएको सदस्यता लिएको दूतावासकी द्वितीय सचिव तथा सूचना अधिकारी विष्णुकुमारी अधिकारीले बताए। एनआरएनए सदस्यता कार्ड लिनेको सँख्या बर्से्नि बढिरहे पनि धेरैले नवीकरण नगरेको दूतावासले जनाएको छ। आर्थिक वर्ष ०७३÷०७४ मा  १ महिलासहित ११ जना पुरुषले मात्रै एनआरएनए कार्ड लिएका थिए। त्यस्तै ०७४÷०७५ मा २ महिलासहित  ११ जनाले लिएका थिए। 

सदस्यता कार्ड लिनेमध्ये अहिलेसम्म ११ जनाले मात्र सदस्यता नवीकरण गरेका छन् । अघिल्लो वर्ष ४ जनाले मात्र नवीकरण गरेका थिए।  २ सय ७० दिर्हाम अथवा झण्डै आठ हजार दुई सय रुपैयाँ शुल्क तिरेर एनआरएनए कार्ड लिन सकिने र हरेक दुई वर्षमा नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ। यूएईमा धेरैजसो व्यवसायीहरुले एनएआरएन कार्ड लिने गरेका छन्। यहाँ व्यवसाय सञ्चालनका लागि नेपालबाट आर्थिक कारोबार गर्न र पैसा ल्याउन केही सहज हुने भएकाले एनआरएनए कार्ड प्रयोग गर्ने गर्छन्।  सरकारले पररास्ट्र मन्त्रालयमा एनआरएनए महाशाखामार्फत एनआरएनएलाई हेर्ने व्यवस्था गरेको र त्यही अनुरुप विदेशस्थित नेपाली नियोगबाटसमेत एनआरएनए कार्ड लिन सक्ने कानुनी व्यवस्था रहेको छ। 

राष्ट्रिय समन्वय परिषदमा २५ सय सदस्य 

राष्ट्रिय समन्वय परिषदमार्फत एनआरएनए यूएईको सदस्यता लिनेको संख्या भने धेरै छ। एनआरएनए यूएईका अध्यक्ष रमेश श्रेष्ठका अनुसार आइसीसीको विधानअनुसार हाल २५ सय जनाले एनआरएनएको सदस्यता लिएको र त्यसमा १५ प्रतिशत महिला सदस्य छन। वैदेशिक रोजगारमा महिलाको संख्या थोरै भएको तथा खाडीका देशमा घरेलु कामदारका रुपमा धेरै महिला रहेका कारण पनि एनआरएनएमा महिला सहभागिता न्यून रहेको श्रेष्ठको भनाइ छ। 

यूएईएईमा सन् २००५ मा एनआरएनए गठन भएको हो। अहिले यहाँको सरकारी निकायमार्फत नेपाली एशोसिएसनका रुपमा संस्थाले कानुनी मान्यता पाएको छ । एनआरएनए आईसीसीको विधानमा सार्क देशभन्दा बाहिरका देशमा दुई वर्षभन्दा धेरै समय बस्नेलाई सदस्यता प्रदान गर्न सक्ने प्रावधान छ। साभार - उज्यालोअनलाइन
 

कमेन्ट लोड गर्नुस