सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा डेंगु संक्रमण बढ्दै

२०८० भदौ १, ०८:१६ खबर संवाददाता

धनगढीः  सुदूरपश्चिममा डेंगुको संक्रमण बढ्दै गएको छ।

बर्खायामसँगै सुदूरपश्चिमका जिल्लाहरुमा डेंगीको संक्रमण बढन थालेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा १४ जना डेंगुका संक्रमित फेला परेका छन्। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार नौ वटा जिल्लामा फैलिएको डेंगुका कारण संक्रमित हुनेको संख्या बढीरहेको पाइएको हो।

पछिल्लो २४ घण्टामा १४ जना संक्रमित फेला परेसंगै प्रदेशमा डेंगु संक्रमित हुनेको संख्या चार सय ६५ पुगेको छ। सुदूरपश्चिम प्रदेश डेंगु संक्रमित हुने संख्यामा तेस्रो भएपनि प्रदेशको दार्चुला जिल्ला देशभर डेंगु संक्रमित देखिनेमा १० स्थानभित्र रहेको छ। तराई जिल्लामा डेंगु फैलाउने लाभ्रा खोज तथा नष्ट अभियान संचालन गरिएपनि संक्रमितको संख्या बढ्ने क्रम जारी रहेको निर्देशनालयले जनाएको छ।

कैलालीमा सन २०२३ को जनावरीदेखि जुनसम्म १० जनामा संक्रमण देखिएकोमा जुलाईमा १६ र अगस्टमा ५२ जनमा संक्रमण देखिएसंगै संक्रमितको संख्या ७८ पुगेको छ भने कञ्चनपुरमा जुनसम्म ३४ जनामा देखिएकोमा जुलाईमा २३ र अगस्टमा २८ जना गरि ८५ जनामा डेंगु संक्रमण देखिएको छ। डेंगु संक्रमण क्रमिक रुपमा प्रदेशका पहाडी तथा हिमाली जिल्लामा पनि बढ्ने क्रम जारी रहेको छ।

हिमाली जिल्ला दार्चुलामा जुनसम्म एक सय ८८ जनामा संक्रमण देखिएकोमा जुलाईमा तीन र अगस्टमा ५ गरि एक सय ९४ जनामा डेंगु संक्रमण देखिएको निर्देशनालयले जनाएको छ। बाजुरामा अगस्टमा १४ जनामा संक्रमण देखिएसंगै संक्रमितको संख्या १८ पुगेको छ। यस्तै बझाङमा यस अवधिमा ११ जनामा संक्रमण देखिएको निर्देशनालयका सूचना अधिकारी ओम जोशीले बताए। पहाडी पाँच जिल्लामा पनि डेंगु संक्रमण फैलने क्रम जारी रहेको निर्देशनालयले जनाएको छ। प्रदेशको डोटीमा  १२, बैतडीमा ६ र अछाममा ५२ जनामा संक्रमण देखिएको छ।
 

कमेन्ट लोड गर्नुस