सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा फोहरमैला वर्गीकरण केन्द्र सञ्चालनमा 

२०८० साउन ३२, ०६:०९ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिकाले फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको हो। उपमहानगरको वडा नम्बर २ सरस्वती नगरमा निर्माण गरिएको फोहरमैला व्यवस्थापन केन्द्र बिहीवारदेखि सञ्चालनमा आएको हो।

नगर क्षेत्रबाट संकलन भएको नकुहिने प्लास्टिकजन्य, फलाम, रबर, कागज र शिशाजन्य फोहर संकलन गरेर सुक्ष्म वर्गीकरण केन्द्रमा अलग–अलग छुट्याएर राखिने उपमहानगरका फोहरमैला परामर्शदाता कृष्ण भण्डारीले बताए।  ‘हामीले नगर क्षेत्रबाट संकलन गरेर नकुहिने फोहरमैला मात्रै सुक्ष्म वर्गीकरण केन्द्रमा ल्याउने छौँ,’ उनले भने, ‘यहाँ वस्तुको प्रकृतिअनुसार अलग–अलग छुट्याएर भण्डारण गरिनेछ। नकुहिने फोहर यहाँ ल्याइने छैन।’

धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ देखि ८ सम्मको फोहर संकलन गर्दा स्रोतमै कुहिने र नकुहिने फोहर अलग–अलग संकलन गर्ने गरेको छ। कुहिने फोहर संकलन गरेर वडा नम्बर २ मै रहेको व्यायो ग्यास प्लान्टलाई दिने गरिएको छ भने नकुहिने फोहर सुक्ष्म व्यवस्थापन केन्द्रमा ल्याएर वर्गीकरण गरिने छ। हाल धनगढीबाट दैनिक ३० टन फोहरमैला संकलन भइरहेको छ। जसमध्ये १२ देखि १५ टन कुहिने फोहर छ भने बाँकी नकुहिने फोहर उपमहानगरले संकलन गर्दै आएको छ। नकुहिने फोहर संकलन पश्चात् वर्गीकरण गरिने र त्यसपछि फोहर बिक्रीबाट आम्दानी गर्ने उपमहानगरको योजना रहेको वातावारण अधिकृत अशोक अवस्थीले बताए। ‘हामीले नगर क्षेत्रबाट दैनिक संकलन गरेको नकुहिने मोहरमैला यहाँ ल्याएर वर्गीकरण गर्ने छौँ। वर्गीकरण गरिएको फोहरमैला बिक्रीबाट आम्दानी गर्ने योजना उपमहानगरले बनाएको छ,’ उनले भने, ‘फोहरमैला बिक्रीबाट फोहरमैला व्यावस्थापनको खर्च उठाउने लक्ष्य उपमहानगरको छ।’

नगर क्षेत्रबाट संकलन गरिएको नकुहिने फोहर सुक्ष्म व्यवस्थापन केन्द्रमा पुगाएर फोहरको प्रकृतिअनुसार छुट्टाछुट्टै वर्गीकरण गरेर भण्डारण गरिने छ। नकुहिने फोहर र कुहिने फोहर अलग–अलग कसरी राख्ने भन्ने कुराको जानकारी समुदायस्तरमा दिइएको छ। फोहरमैलालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्दै फोहरलाई मोहरमा रूपान्तरण गर्ने अभियानको सुरुवात भएको उपप्रमुख कन्दकलाकुमारी रानाले बताइन्। ‘धनगढी उपमहानगरपालिकालाई स्वच्छ र स्वस्थ बनाउने अभियान अन्तर्गत आजबाट फोहरमैला वर्गीकरण केन्द्र सञ्चालनमा आएको छ,’ उनले भनिन्, ‘सुक्ष्म वर्गीकरण केन्द्र सञ्चालनमा आएसँगै फोहरलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनेछ। उपमहानगरले फोहरलाई मोहरमा रुपान्तरण गर्ने अभियान थालेका हो।’

धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ देखि ८ सम्मको फोहरमैला दैनिक तालिका बनाएर संकलन गर्ने गरेको छ। उपमहानगरले कुहिने फोहर वायो ग्यास प्लान्टलाई दिने गरेको छ भने नकुहिने फोहर वर्गीकरण गरेर बिक्री गर्ने योजना कार्यान्वयनमा ल्याएको छ।
 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस