सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुकासालको चक्काजाम हट्यो

२०८० साउन ३२, ०४:५५ खबर संवाददाता

कञ्चनपुरः  बिहीबार बिहानबाट अवरुद्ध पूर्वपश्चिम राजमार्गको महेन्द्रनगर–गड्डाचौकी खण्ड खुलेको छ।

बुधबार राजमार्गमा लत्रिएको डिसहोम फाइबरनेटको तारबाट करेन्ट लागेर भीमदत्त नगरपालिका–१० पशुपती टोलका ४० वर्षीय दिनेश ओडको मृत्यु भएको थियो। ओडको मृत्यु भएपछि बिहीवार बिहानैबाट आफन्तले भीमदत्त नगरपालिका–५ सुकासालस्थित राजमार्गमा चक्काजाम गरेका थिए। मृतक ओडका आफन्त कृष्ण सुनारले क्षतिपूर्ति सम्बन्धमा सरोकारवाला पक्ष सकारात्मक देखिएकाले अहिलेका लागि अवरोध हटाइएको बताए।

अहिले जिल्ला प्रशासन कार्यालयमा छलफल चलिरहेको र छलफलको निचोड पीडितका पक्षमा नआए फेरि राजमार्ग बन्द गरिने ओडका आफन्तले बताएका छन्। डिसहोमको अप्टिकल फाइबर विद्युत प्राधिकरणको प्रसारणलाइनमैं तारसँग जोडेर राखेको र सो फाइबर लत्रिएर ओडको टाउकोमा लागेपछि करेन्ट प्रवाह ह्ँदा दुर्घटना भएको थियो।

पीडित पक्षले मृतकको परिवारलाई ३० लाख रुपैयाँ र एक जनालाई रोजगारीको व्यवस्था गरिनुपर्ने माग गरेको छ। डिसहोम र विद्युत प्राधिकरण दुबैबाट क्षतिपूर्ति भराउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। डिसहोम र विद्युतले आफ्नो माथिल्लो निकायमा छलफल गरिरहेको र ‘वातावरण सकारात्मक रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस