सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बहुविवाह गर्ने बढे, ६७ मुद्दा अदालतमा दर्ता

२०८० साउन ३१, ०६:५५ खबर संवाददाता

धनगढीः कैलालीमा बहुविवाह गर्ने बढेका छन्। घरमा श्रीमती हुँदाहुँदै अर्को विवाह गर्ने पुरुषको संख्या जिल्लाभित्र बढ्दै गएको हो।

बढ्दो आधुनिकता तथा सहरीकरणसँगै वैवाहिक समस्या समाजमा बढ्दै गएको छ। साथै विवाहको प्रकृति, बहुविवाह, पुनःविवाह, पारपाचुकेजस्ता घटनाहरुको वृद्धिले सामाजिक संरचनालाई समेत चुनौती दिइरहेको छ। मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ अनुसार बहुविवाह गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

साथै बहुविवाह स्वतः बदर हुने समेत उक्त दफामा उल्लेख छ। जिल्ला अदालत कैलालीमा आर्थिक वर्ष २०७४/७५ मा १३, आर्थिक वर्ष २०७५/७६ मा २१, र आर्थिक वर्ष २०७५/७६ मा बुहविवाहका १७ मुद्दा दर्ता भएको अभिलेख छ। त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा १७ वटा बहुविवाहका मुद्दा दर्ता भएका थिए।

बहुविवाहका आर्थिक वर्ष २०७९/८० सम्म आइपुग्दा ६७ मुद्दा दर्ता भएका छन्। तीमध्ये ४१ मुद्दाको फैसला भइसकेको छ भने २६ मुद्दाको अन्तिम फैसला हुन बाँकी छ। जिल्लाभित्र बहुविवाहसँगै बालविवाह हुने क्रम पनि रोकिएको छैन्। सो अवधिसम्म बालविवाहका तीन मुद्दा अदालतमा परेकोमा सबै मुद्दाको फैसला भइसकेको छ। कतिपयले  छोरा पाउने आसमा दोस्रो विवाह गर्ने गरेका घटना समेत बाहिर आउने गरेका छन्।

कमेन्ट लोड गर्नुस