सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा व्यवसायी पक्राउ प्रकरणः ‘सिडिओले नै निर्दोषलाई फसाउन खोजे’

२०८० साउन ३१, १२:३७ खबर संवाददाता

धनगढीः सोमबार कैलालीका दुई व्यवसायी अनुचित लेनदेनको आरोपमा पक्राउ परे। अनुचित लेनदेन सम्वन्धमा ती व्यवसायी विरुद्ध उजुरी परेपछि प्राप्त भएका उजुरीमाथि छलफल गराउने, यसअघि अदालतमा परेका मुद्दा बुझ्ने लगायत विषयका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले दुबै जनालाई हिरासतमा पठाएको हो।

अनुचित लेनदेन आरोपमा घोडाघोडी नगरपालिका–१ का चन्द्रप्रकाश चौलागाईं र धनगढी उपमहानगरपालिका–५ का यज्ञ तिवारीलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखेको थियो। हार्डवेयर व्यवसायीसमेत रहेका चौलागाईं र धनगढीको विकास होटलका सञ्चालक तिवारीलाई सोमबार थुनामा राखिएको हो।

तिवारीका नाममा आधा दर्जन उजुरी परेका छन् भने चौलागाईंका नाममा जग्गा ठगीको उजुरी प्रशासनमा परेको छ। तर सोमबार पक्राउ परेका दुबै जना मंगलबार साँझ ६ बजे मात्र छुटेका हुन्। व्यवसायी तिवारीले आफु निर्दोष भएको र प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले कुर्सीको दुरुपयोग गरेर फसाउन खोजेको आरोप लगाएका छन्।

‘यदि म दोषी थिए भने किन सरकारी वकिलले निर्दोष सावित गरेर उन्मुक्ति दियो? सिडिओले आक्रोसमा आएर मलाई एक रात प्रहरी हिरासतमा थुन्न लगाए, मेरो मान, मर्यादा र इज्जतमाथि खेलवाड गर्ने काम प्रशासन कार्यालयले गर्यो। जुन म विरुद्ध रचिएको ठुलो षडयन्त्र हो।’ उनले दिनेश खबरसँग कुरा गर्दै भने। तर जिल्ला प्रशासन कार्यालय कैलालीले भने अनुचित लेनदेन सम्बन्धमा उनीहरु विरुद्ध प्राप्त भएका उजुरीमाथि छलफल गराउने र थप यसअघि परेका मुद्दा बुझ्न हिरासतमा पठाइएको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल भन्छन्, ‘कसले उहाँहरुलाई निर्दोष भन्यो, मुद्दा फैसला नै न्यायिक समितिसम्म पुगेको छैन।’ ‘सरकारी वकिलबाट उहाँ जमानीमा अथवा हाजिरी जमानीमा छुट्ने विषयमा हामी अहिले दोषी वा निर्दोष भन्ने पक्षमा छैनौँ।’ उनले भने, ‘हामी कुनै व्यक्तिलाई चिन्दैनौँ, हामीले मुद्दालाई चिन्ने हो।’ ‘उहाले मैले जिते अर्थात क्लिन चिट पाए भन्ने होइन।

मुद्दाको रुप बाँकी नै छ। सफाई पाएको छु भन्नुहुन्छ भने भोलीपर्सी मुद्दाको रुपमा साक्षी, बयान र बकपत्रको रुपमा पनि थाहा भइहाल्छ। त्यस कारण दोषी निर्दोषीको विषय अहिले होइन।’ उहाँ विरुद्ध आएका उजुरीमाथि अनुसन्धान अहिले पनि जारी नै रहेको प्रशासनले जनाएको छ।

तर व्यवसायी तिवारीले भने आफु दोषी भएको भए जेलमा हुनुपर्ने तर सरकारी वकिलले तपाई मिटरब्याजी होइन भनेर किन सफाई दियो? त्यस कारण आफुलाई फसाउन यस्तो षडयन्त्र रचिएको तिवारीको आरोप छ। ९ वर्षअघिको विषयलाई लिएर अहिले फसाउने काम भएको उनको दाबी छ।

कमेन्ट लोड गर्नुस