सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकलमा माछा ढुवानी गर्ने कैलालीका किसान धमाधम ट्राफिक कारबाहीमा

२०८० साउन ३१, १०:२२ कमल सावद

धनगढीः कैलालीमा चार हजार मेट्रिकटन माछा एक वर्षमा उत्पादन हुन्छ। जिल्लामा प्रत्येक वर्ष माछा पालक किसान र माछाको उत्पादन बढ्दैछ। तर माछा उत्पादक किसानले बजारसम्म माछा ल्याउन भने सहज छैन।

उनीहरुलाई ट्राफिक प्रहरीले अनावश्यक दुःख दिने गरेको छ। माछा उत्पादक किसानका अनुसार ३० किलोग्राम माछा मोटरसाइकलमा ढुवानी गर्दा पाँच सय जरिबाना तिर्नुपरिरहेको गुनासो छ। माछा उत्पादक एक किसानले भने, ‘मोटरसाइकलमा २५/३० किलो माछा लैजान्छौ। ट्राफिकले भेटायो भने, पाँच सय तिराउँछ। हाम्रो एक दिनको कमाई पाँच सय हुँदैन।’ पोखरीबाट माछा बजारसम्म मोटरसाइकलमा ल्याउदा परियोजन बिपरीतको सवारीसाधन प्रयोग गरेको भन्दै ट्राफिक प्रहरीले कारबाही गर्दै आएको किसानको गुनासो छ।

एक पटकमा ३० किलोग्रामसम्म माछा मोटरसाइकलमा बजार ल्याउन सकिन्छ। तर, ट्राफिक प्रहरीले भने परियोजन बिपरीत भन्दै कारबाही गर्दै आएको छ। ३० किलोग्राम माछाबाट हुने आम्दानी नै ट्राफिक प्रहरीले लिने गरेको किसानको आरोप छ। भएको आम्दानी नै जरिबानाको रुपमा ट्राफिक प्रहरीलाई दिनुपर्ने भएपछि किसान हैरान भएका हुन्। 

ऐन अनुसार मोटरसाइकलमा चालकसहित दुई जना मात्र सवार गर्न मिल्छ। माछा लगायतका सामान ढुवानी गर्न कानूनी रुपमा मान्यता दिइएको छैन। तर, माछा ढुवानीमा पनि मोटरसाइकल सहज हुने भएकाले किसानले प्रयोग गर्दै आएका छन्। किसानहरुसँग सवारीको नाममा मोटरसाइकल हुने र मोटरसाइकलमा ढुवानी गर्न ट्राफिकले नदिएपछि हैरानी हुने गरेको किसानले बताउने गरेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीका प्रमुख वीरेन्द्र जोहारीले थेरै माछा मोटरसाइकलमा ढुवानी गर्दा समस्या नभए पनि धेरै ढुवानी गर्दा दुर्घटनाको खोजिम हुने बताए। उनले भने, ‘थोरै ल्याउदा समस्या भएन। तर उहाँहरु धेरै ल्याउनुहुन्छ। धेरै ल्याउदा दुर्घटनाको जोखिम हुन्छ। मोटरसाइकलमा माछा ढुवानी गर्नु दीर्घकालिन समाधान पनि होइन।’

जिल्लामा माछाको उत्पादन वृद्धि हुँदै गएका बेला उत्पादित माछा बजारसम्म ल्याउन समस्या हुने गरेको किसानको गुनासो छ। पोखरीबाट उत्पादित माछा मोटरसाइकलमा बजारसम्म ल्याउदा ट्राफिक प्रहरीले दुःख दिने गरेको किसानले गुनासो गरेका हुन्। ट्राफिक प्रहरीले उद्देश्य विपरीत मोटरसाइकलमा माछा ढुवानी गरे जरिबाना गर्दै आएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस