सुदूर नेपाललाई विश्वसँग जोड्दै

मागेका खेल सामाग्रीबाट स्वर्ण जिताउँदै घर फर्किए सुदूरपश्चिमका हक्की खेलाडी

२०७६ वैशाख ९, ११:५१ खबर संवाददाता

नेपाली खेलकुदको महाकुम्भ आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेश ५ का विभिन्न शहरमा जारी छ। आठौंमा सहभागी सुदूरपश्चिम प्रदेश ७ स्वर्ण, ५ रजत र १८ कास्य गरि ३० पदक सहित अंक तालिकाको पाँचौ स्थानमा छ। कुस्तीमा ६ स्वर्ण जित्दा महिला हक्की सुदुरपश्चिमलाई स्वर्ण जिताउने अर्को खेल बनेको छ। मागेर ल्याएका खेल सामाग्रीकै सहारामा स्वर्ण जितेर महिला हक्कीमा आफ्नो दबदबा कायम राख्न सफल भएका छन्। कञ्चनपुरको भिमदत्त नगरपालिकाका मात्रै महिला खेलाडी सहभागी भएको सुदूरपश्चिम प्रदेशले महिला हक्कीमा स्वर्ण जितेपछि दंग छन्।

खेल खेल्ने पुर्वाधारको अभाव, त्यसैमा खेल्ने सामाग्री नहुँदा सहभागीता जनाउने की नजनाउने भन्न्ने अन्यौलताका विचमा स्थानीय तहले दिएको खेल सामाग्रीको सहारामा महिला हक्की टीमले आफुलाई अब्बल सावित गर्दै स्वर्ण जितेको हो। सातौं राष्ट्रिय खेलकुदमा पनि स्वर्ण जितेको टीमले लगातार दोस्रो पटक स्वर्ण जित्दै आफ्नो दबदबा कायम राख्न सफल भएको टीमका प्रशिक्षक तेजवहादुर विष्टले बताए। सुदूरपश्चिम प्रदेशले लिग चरणमा प्रदेश ३ लाई १०–०, आर्मीसँग १–१ को बराबरी खेल्दा सेमिफाईनलमा प्रदेश २ लाई ५–१ ले किनारा लगाएको थियो। फाईनलमा गण्डकी प्रदेशलाई १–० ले हराएर स्वर्ण जितेकोमा महिला खेलाडीहरु दंग भएका हुन्।

विभिन्न चुनौतीका विचमा पनि स्वर्ण जितेर देखाउन सफल भएको खेलाडी विन्दु चन्दको भनाई छ। सातौ राष्टिय खेलकुददेखि हक्की खेल समावेश भएकोमा लगातार दोस्रो पटक सुदूरपश्चिम प्रदेशले स्वर्ण जितेको हो। तर अहिले पनि धेरै समस्या रहेकोले हक्कीको विकासका लागि स्थानीय सरकार र प्रदेश सरकारले सहयोग गरेमा अझ उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडीहरु बताउँछन्। त्यसका लागि सवैले सहयोग गर्नुपर्ने हक्की प्रशिक्षक तेजवहादुर विष्टको आग्रह छ। बाँकेको खजुरा गाउँपालिकामा भएको महिला हक्कीमा आफ्नो प्रदेशलाई स्वर्ण जिताएर खेलाडी घर फर्किएका छन्। महिला खेलाडीलाई प्रोत्सहान गर्नका लागि अव केही सोच्ने हो की ?
 

कमेन्ट लोड गर्नुस