सुदूर नेपाललाई विश्वसँग जोड्दै

परराष्ट्रमन्त्री साउदद्वारा लिङ्गेश्वर धामको अवलोकन

२०८० साउन ३०, ०८:१८ खबर संवाददाता

कञ्चनपुरः परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बेदकोट नगरपालिकाको धार्मिक पर्यटकीय क्षेत्र लिङ्गेश्वर धाम संरक्षणका लागि तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। सोमवार लिङ्गेश्वर धाम क्षेत्रको अवलोकन गर्दै उनले पर्यटकीय क्षेत्रमा बाढीबाट थप क्षति हुन नदिनका लागि प्राविधिकको सल्लाहअनुसार काम अगाडि बढाउने बताए।

'धार्मिक क्षेत्रका प्राकृतिक संरचना जोगाउनका लागि तटबन्ध निर्माण गर्न आवश्यक छ', उनले भने, 'प्राविधिक कुरा भएकाले सम्बन्धित मन्त्रालयमा यसबारे कुरा गर्छु, प्राविधिक टोली खटाएर धार्मिक क्षेत्रको संरक्षणका लागि कार्य अगाडि बढ्छ।'

लिङ्गेश्वर क्षेत्रको संरक्षण गर्नका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नदीमा झोलुङ्गे पुल निर्माण गर्नका लागि पहल गरिने बताए। लिङ्गेश्वर क्षेत्रसहित यससँग जोडिएका जोखिममा रहेका बस्ती जोगाउनका लागि पनि तटबन्धको योजना ल्याइने उनले बताए।

धार्मिक क्षेत्रलाई पर्यटन मन्त्रालयमा दर्ता गराउन आग्रह गर्दै उनले पर्यटकीय पूर्वाधार निर्माणका लागि कटिबद्ध भएर लाग्ने बताए। स्थानीय समुदायकै चाहनाअनुसार पर्यटकीय क्षेत्रको विकास र बाढीबाट संरचना जोगाउनका लागि कार्य गरिने उनको भनाइ थियो।

लिङ्गेश्वर धाम क्षेत्र नजिकै भएर बग्ने खोलाले मन्दिर, तटबन्ध, अन्य पर्यटकीय पूर्वाधारलगायत बगाएर क्षति पु¥याएको छ। मन्त्री साउदसहित अवलोकनमा बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहरा, भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, नेपाली कांग्रेसका क्षेत्रीय सभापति लालबहादुर सिंह र प्रदेश सभापति करन सिंह ऐर लगायतको सहभागिता रहेको थियो।
 

कमेन्ट लोड गर्नुस