सुदूर पहाडी जिल्लाको ‘लाइफलाइन’ भीमदत्त राजमार्ग सूचारु गर्नै कठिन
धनगढीः भीमदत्त राजमार्ग सुचारु भएको केहि समयमै पुनः अवरुद्ध भएको छ। अवरुद्ध राजमार्ग आज दिउँसो एकतर्फी रुपमा सञ्चालनमा आएको थियो। सडक डिभिजन कार्यालय महेन्द्रनगरले साना र हलुका सवारीमात्रै पास गर्न भनेको थियो। तर जोखिमकै बिच मालबाहक सवार पास गर्न खोज्दा पुनः सडक बिग्रीएको हो।
भीषण वर्षापछि कैलालीको बूढीतोलामा आएको पहिरोका कारण गत सोमबार रातिदेखि अवरुद्ध भीमदत्त राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। राजमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई आवतजावतमा सास्ती भइरहेको छ। सुदूरपश्चिमका सातवटा पहाडी जिल्लालाई तराईसँग जोड्ने एक मात्र राजमार्ग लामो समय अवरुद्ध हुँदा पहाडी जिल्लाको जनजीवन प्रभावित भइरहेको छ। पहाडबाट तराई ल्याउनुपर्ने तरकारी पहाडका बारीमै कुहिन थालेका छन्।
तराईबाट ढुवानी ठप्प भएपछि पहाडमा दैनिक उपभोग्य वस्तु, इन्धन र औषधिको अभाव हुन थालेको छ। राजमार्ग बन्द भएपछि बिरामी र अशक्त सबैभन्दा बढी मारमा परेका छन्। एम्बुलेन्ससमेत नचल्दा कतिपय सिकिस्त बिरामी थप उपचारका लागि धनगढी आउन सकेका छैनन्। अहिले पहिरो गएको ठाउँमा डोजर लगाएर काम भइरहेको छ।
सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख हरिप्रसाद सुवेदीले एकतर्फी भए पनि सडक खोल्ने र हलुका सवारीसाधन सञ्चालनको प्रयास भइरहेको बताए। पुरानो सडकको एक सय मिटर बेस पूरै बगाएको छ। पहाडी जिल्लालाई जोड्ने वैकल्पिक सडक नभएको सुदूरपश्चिममा भीमदत्त राजमार्गलाई पहाडी जिल्लाको लाइफलाइन मानिन्छ। सोहि सडक पनि लामोसमयदेखि अवरुद्ध हुँदा पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ।
कैलालीको बुढीतोलामा गएको पहिरोका कारण सडक यातायात पूर्ण रुपमा अवरुद्ध भएको हो। तराईका यात्रुहरु तराईमै रोकिएका छन्। पहाडी जिल्लाहरु डडेलधुरा, बैतडी, दार्चुला, डोटी, अछाम, बाजुरा र बझाङबाट तराईतिर झर्ने यात्रुहरुले पनि आफ्नो यात्रा स्थगित गरिरहेका छन्। सडक अवरुद्ध भएकाले ढुवानीका साधनहरु नचल्दा पहाडी जिल्लामा खाद्यान्न, औषधी, इन्धनलगायत दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन थालेको छ।
पहाडी जिल्लामा उत्पादित टमाटर, गोलभेडा, काउली, आलु, सिमी, बन्दालगायत दाल तरकारीहरु तराई आउने गर्छ। प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक सुचारु भएका बेला भीमदत्त राजमार्ग खण्डमा दैनिक करिब दुई हजारको संख्यामा यातायात तथा ढुवानी साधनहरु ओहोरदोहोर गर्ने गरेका छन्। सडक विभागबाट पहिरो विशेषज्ञसहितको टोली बुढीतोला पुगेर प्रारम्भिक अध्ययन गरेको छ।
सडक विभागका सुपरिटेन्डिङ इन्जिनियर विनोद कुमार मौवार नेतृत्वको टोलीमा पहिरो विशषज्ञ डाक्टर मधुसुदन आचार्यसहितको टोलीले पहिरो प्रभावित सडक क्षेत्रको स्थलगत अनुगमन गरेको सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख सुवेदीले बताए। वर्षौअघि त्यस ठाउँमा पहिरो गएको र पहिरोमाथि नै सडक बनेकाले त्यहाँको जमिन कमजोर रहेको अध्ययनकर्ताहरुले बताए। सडक मर्मत तथा सञ्चालनका लागि पानी ब्यवस्थापन मुख्य चुनौति भइरहेको छ।