सुदूर नेपाललाई विश्वसँग जोड्दै

बम पड्काएर परिवर्तन हुन्छ भन्नु विप्लवको ठूलो भ्रम हो : प्रचण्ड

। फोटो स्रोत ।
२०७६ वैशाख ८, ०७:२२

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बम पड्काएर जनतामा आतंक सिर्जना गरेर परिवर्तन आउँछ भन्नु विप्लवको ठूलो भ्रम रहेको बताएका छन्।

आइतबार चितवन कैलाशनगर माध्यामिक विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै दाहालले नेक्रविक्रम चन्द्र विप्लवलाई वार्ता, संवादमा आउन आग्रह पनि गरे। ‘एक, दुइटा बम पड्काएर जनतालाई आतंकित पारेर चन्दा उठाएर हिड्ने यो अवस्था होइन,’  उनले भने, ‘घटना घटाएर परिवर्तन हुन्छ भन्नु ठूलो भ्रम हो।’

देशमा कम्युनिष्टलाई जनताले दुईतिहाइ मत दिएको र कम्युनिष्टकै सरकार रहेकोले वार्ता, संवादबाटै जाने सकिने वातावरण भएको दाहालले  बताए।

‘यो ०५२ साल होइन, हामी ०७६ सालमा पुगेका छौं, संसारले नेपालको शान्ति प्रक्रियालाई हेरेको छ,’ दाहालले भने, ‘विप्लवलगायत सबैलाई राम्रैसँग चिन्छु, उहाँहरु गलत बाटो हिड्दै हुनुहुन्छ भनेर मैले लगातार भन्दै आएको छु।’

संविधानमै समाजवाद उन्मुख राज्य हुने लेखिसकिएकोले परिवर्तनका लागि बमको आतंक आवश्यक नहुने पनि उनले बताए। सरकारले संविधान कार्यान्वयनका लागि कानून निर्माणका काम गरेको पनि उनले बताए। साथै सोमबारसम्म पार्टी एकताका सम्पूर्ण कामहरु टुंग्याउने उनले दोर्होयाएका छन्। साभार - सेतोपाटी
 

कमेन्ट लोड गर्नुस