सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भीमदत्त राजमार्गको पहिरो हटाउन ५ वटा डोजर काम गर्दै

२०८० साउन २५, ११:५४ खबर संवाददाता

धनगढीः कैलालीमा भीमदत्त राजमार्गको पहिरो हटाउन पाँच वटा डोजर काम गर्दैछन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा भासिएको सडक मर्मतका लागि सडक डिभिजन कार्यालयले पाँच वटा डोजर लगाएको हो।

सडक डिभिजन कार्यालय, कञ्चनपुरका प्रमुख हरि सुवेदीका अनुसार पाँच वटा डोजरले बिहिवार काम गर्दैछन्। उनका अनुसार भासिएको सडकको भित्ताबाट पहाड काट्ने काम हुँदैछ। 

सोमवार रातिको अविरल वर्षापछि पहिरोसँगै भासिएको भीमदत्त राजमार्ग सुचारु गर्न  काम थालिएको हो। वर्षाका कारण पहिरो हटाउन समस्या भएको थियो भने भासिएको सडक मुनीबाट पानी भएकाले पनि समय लागेको हो। वर्षाको पानी भासिएको जमिन मुनी रहेकाले सडक मर्मतमा समय लागेको सुवेदीले बताए। उनले भने, ‘हामी काम गर्दैछौ। पाँच वडा डोजर छन्। मौसम राम्रो भयो भने काम हुन्छ। भित्ता काटेर सडक बनाउदैछौ। काम गर्न थोरै छ। तर गाह्रो क्षेत्र छ। भित्र पानी छ। मुख्य कुरा मौसम हो। मौसम राम्रो भयो भने, ७ घण्टामा काम सकिने थियो।’

सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग नै भासिएपछि मंगलवारबाट सुदूरपहाडको यातायात अवरुद्ध भएको छ। यात्रुहरु पैदल हिडर यातायातका साधान भएको ठाउँसम्म जाने गरेका छन्। बुढीतोला क्षेत्रमा भासिएको सडकबाट मान्छे पनि हिड्न सक्ने अवस्था छैन्। बुढीलोलास्थित बाख्रा फार्मभन्दा करिब ३ सय मिटर दक्षिण अत्तरियातर्फ भावर भन्ने ठाउँमा पहिरो खस्दा सडक भासिएको हो।

बुढीतोला र अत्तरिया दुबैतर्फबाट भारी उपकरणको प्रयोग गरेर छिटोभन्दा छिटो सडक सुचारु गर्ने प्रयास भइरहेको सुवेदीले बताए। 


 

कमेन्ट लोड गर्नुस