महाकाली नदीले सतर्कता तह नाघ्यो, धौलीगंगा बाँधको पानी थपिँदै

धनगढीः महाकाली नदीको जलस्तरले सतर्कता तह पार गरेको छ। जलस्तरले सतर्कता तह पार गरेपछि बुधवार बिहानैबाट शारदा ब्यारेजमाथि बनेको पुलमा चार पांग्रे सवारी साधन आवतजावतमा रोक लगाइएको छ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार अहिले नदीमा १ लाख ६१ हजार क्यूसेक पानी बगिरहेको छ। १ लाख क्यूसेक पानी बग्न थालेमा सो ब्यारेजमाथि बनेको पुलमा चार पांग्रे निषेध गरिन्छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज सई देबसिंह बुडालका अनुसार ब्यारेज प्रशासनले नदीमा पानीको बहाव दिउँसो झन् बढ्ने सूचना पठाएको छ।
भारतको धौलीगंगा जलविद्युतको बाँध खोलिएकाले बिहान ११ बजेपछि जलस्तर झन् बढ्ने भारतीय पक्षको सूचनामा उल्लेख भएको बुडालले बताए। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाको अनलाईन प्रणालीका अनुसार महाकाली नदीले डडेल्धुराको परिगाउँमा सतर्ककताको तह पार गरिसकेको छ।
बिहान सवा ९ बजे परिगाउँमा जलस्तर ५.८२ मिटर पुगेको थियो। सो ठाउँमा महाकालीको जलस्तर ५.८ मिटर पुगेमा सतर्कताको तह पार गरेको मानिन्छ। महाकाली नदी बेसिनका दार्चुला, बैतडी र डडेल्धुरा जिल्लामा भने खासै वर्षा भएको छैन।
दार्चुलामा पछिल्लो २४ घण्टामा १८.२ मिलिलिटर मात्रै पानी परेको छ। महाकाली नदीका प्रमुख ३ सहायक नदी चमेलिया, सुनर्या र रुपालीगाडमा जलस्तर सामान्य रहेको छ।



