मृगौला रोगपीडित बाजुराका जैसीको उपचारका क्रममा मृत्यु
धनगढीः मृगौला रोगबाट पीडित बाजुराको बुढीगंगा नगरपालिका–२, ब्रह्मतोलाका २४ वर्षीय रामप्रसाद जैसीको मृत्यु भएको छ।
काठमाडौँको बीर अस्पतालमा उपचारका क्रममा जैसीको आइतबार मृत्यु भएको हो। केही समययता उनी काठमाडौँमा नियमित डाइलाइसिस गराउँदै आएका थिए। बाल्यकालमै बुवा गुमाएका उनले गरिबीका कारण १२ वर्षको उमेरसम्म उपचार पाएका थिएनन्। विगत करिब १० वर्षदेखि उनका भिनाजु पदमराज रेग्मीले उपचारमा सहयोग गर्दै आएका थिए।
रेग्मीका अनुसार लामो समयदेखि मृगौला रोगपीडित उनको केही समयअघि दुवै मृगौलाले काम गर्न छोडेको थियो। यसअघि मृगौला प्रत्यारोपणको प्रयास गरिए पनि ‘म्याच’ नभएको रेग्मीले बताए। पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको छ। मृतक जैसीकी आमालाई दाहसंस्कार गर्न समेत पैसाको समस्या भएपछि राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत कर्मचारीहरुले आर्थिक सहयोग गरेका छन्।
राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत गगनराज घिमिरे, मिलनबाबु नेपाल, जेम्स जोशी, कलबहादुर बुढा, रामप्रसाद जोशी, रामजी आचार्य, इश्वरबहादुर सिंह, दीपेन्द्रबहादुर भण्डारी, नारायण बलायर, मधुरेन्द्र झा, श्याम खड्का, रजनिश फुलारा, सुदिन केसी, केनदिप श्रेष्ठ, वुद्धि अधिकारी र विमल जोशीलगायतले कुल २३ हजार रुपैयाँ सहयोग गरेका हुन्।