सुदूर नेपाललाई विश्वसँग जोड्दै

घरजग्गा रजिष्ट्रेशनबाट सुदूरपश्चिमले आम्दानी बढाउँदै, कुन वर्षको आम्दानी कति?

२०८० साउन २१, ०१:०० खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले घरजग्गा रजिष्ट्रेशनबाट वर्षेनि आम्दानी बढाउँदै गएको छ। प्रदेश सरकारको राजस्व शिर्षक अन्तर्गत बाडफाँडबाट प्राप्त हुने घरजग्गा रजिष्ट्रेशन दस्तुर वाफत आर्थिक वर्ष २०७९/८० मा ५१ करोड एक लाख ८० हजार आम्दानी भएको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांक छ।

यस्तो अम्दानी आर्थिक वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७५/७६ मा शून्य थियो। प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि आर्थिक वर्ष २०७९/८० सम्म घरजग्गा रजिष्ट्रेशनबाट आम्दानी बढाउँदै लगेको पाइएको छ। हरेक वर्ष यस्तो राजस्व बढ्दै गएको पाइएको हो।

प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा २९ करोड एक लाख १० हजार ८ सय १८ रुपैयाँ, आर्थिक वर्ष २०७७/७८ मा ३३ करोड ९४ लाख ९१ हजार ९ सय ५८ रुपैयाँ घरजग्गा रजिष्ट्रेशनवाफत राजस्व संकलन गरेको तथ्यांक छ। आर्थिक वर्ष २०७८/७९ मा सो शिर्षक अन्तर्गत ४० करोड ६३ लाख ४५ हजार ९ सय ७६ तथा आर्थिक वर्ष २०७९/८० मा ५१ करोड एक लाख ८० हजार प्रदेश सरकारले आम्दानी गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ।

प्रदेश सरकारले व्यवसाय रजिष्ट्रेशन दस्तुर तथा व्यवसाय करबाट आर्थिक वर्ष २०७४/७५ मा शून्य, आर्थिक वर्ष २०७५/७६ मा ३० लाख १५ हजार ८ सय १५ रुपैयाँ आम्दानी गरेको छ। यस्तो आम्दानी आर्थिक वर्ष २०७६/७७ मा बढेर ९५ लाख ३८ हजार ७ सय २३ रुपैयाँ थियो भने आर्थिक वर्ष २०७७/७८, आर्थिक वर्ष २०७८/७९ र आर्थिक वर्ष २०७९/८० मा शून्य देखिएको छ।

खानी तथा खनिज रोयल्टी, वन रोयल्टी, जलविद्युत रोयल्टी तथा पर्वतारोहण रोयल्टी आर्थिक वर्ष २०७५/७६ मा मात्र संकलन भएको देखिएको छ। त्यसपछिका वर्षहरुमा भने यस्तो आम्दानी शून्य देखिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले सडक निर्माण तथा संभार दस्तुर वाफत आर्थिक वर्ष २०७५/७६ मा ३३ हजार तीन सय ३६ रुपैयाँ संकलन गरेको थियो। त्यसपछिका वर्षहरुमा भने यस्तो शिर्षकबाट प्रदेश सरकारलाई कुनै आम्दानी भएको छैन।

कमेन्ट लोड गर्नुस