सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा विष्ट दम्पतीको पुुष्प खेती, दश टन उत्पादनको लक्ष्य

२०८० साउन १८, ०६:३७ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारीमा शंकरसिंह विष्ट र सुशीला विष्टले व्यावसायिक पुष्प खेती सुरू गरेका छन्। भाडामा लिएको डेढ बिघा जग्गामा विष्ट दम्पतीले पुष्प खेती सुरू गरेका हुन्। 

धनगढी उपमहानगरपालिकाले प्रदान गरेको एक हप्ते व्यावसायिक पुष्प खेती तालिम लिएर विष्ट दम्पतीले पुष्प खेती सुरू गरेका छन्। यसअघि कैलारी गाउँपालिकाको पवेरामा घाँस खेती, भैंसी पालन र थोरै जग्गामा पुष्प खेती गर्दै आएका उनीहरुले यो वर्षबाट धनगढीको मटियारीमा व्यावसायिक पुष्प खेती सुरु गरेका हुन्। यो वर्ष डेढ बिघा जग्गामा सयपत्री र सुपारी फूल खेती गरेका विष्ट दम्पतीले १० टन बढी फूल उत्पादन गर्ने लक्ष्य राखेका छन्।

वैशाख ४ गतेदेखि आसार १० गतेसम्म धनगढी पोलिटेक्निक ईन्स्टिच्युटमा सिटिईभिटीले प्रदान गरेको ६५ दिनको तालिम  र धनगढी उपमहानगरले प्रदान गरेको  एक हप्ते व्यावसायिक पुष्प खेती सम्बन्धि तालिम लिएकी सुशीला विष्ट र उनका पति शंकरसिंहले व्यावसायिक पुष्प खेती सुरू गरेका हुन्। धनगढी–६ मटियारीमा डेढ बिघा जग्गा भाडामा लिएर विष्ट दम्पतीले पुष्प खेती सुरू गरेका छन। विष्ट दम्पतीले यो वर्ष करिब ३० हजार बिरुवा आफू रोपेका छन् भने ८० देखि एक लाख सयपत्री र सुपारी फूलको बोट बिक्री गर्ने लक्ष्य लिएका छन्। ‘मैले डेढ बिघामा फूल खेती सुरु गरेको छु। बिरुवा गनेको त छैन, ३० हजार जति होलान्,’ उनले भने, ‘मैले अन्य किसानलाई पनि बिरुवा होलसेलमा बिक्री गर्छु। यो वर्ष एक लाख २५ हजारको बाहिरबाट माग आएको छ।’

कैलारी गाउँपालिकामा कृषि व्यवसाय गर्दै आएका विष्ट दम्पतीले यो वर्षबाट धनगढीमा पुष्प खेती सुरु गरेका हुन्। धनगढीमा फूलको बजार राम्रो देखेर व्यवसाय सुरू गरेको बताउने विष्टले आसपासमा थप जग्गा भाडामा उपलब्ध भए अर्को वर्षबाट पुष्प खेतीको क्षेत्रफल बढाउने लक्ष्य राखेका छन्। ‘यो वर्ष दुई थरी फूल रोपेको छुँ, सयपत्री र सुपारी,’ उनले भने, ‘अहिलेसम्म ३ लाख ५० हजार जति खर्च भएको छ। अझै मलखाद र गोडमेलमा खर्च हुन्छ।’

बण्डाली कृषि नर्सरी स्थापना गरेर विष्ट दम्पतीले फूलको बिरुवा पनि बिक्री गरिरहेका छन्। अहिले बिरुवा बिक्री गरिरहेका उनीहरूले दसैं र तिहारलाई लक्षित गरेर बेर्ना सारेको बताएका छन्। दसैं र तिहार मुख्य सिजन भए पनि वर्षभरि आफ्न नर्सरीमा फूल उपलब्ध गराउने विष्टले बताए। उनले भने, ‘फूलको बजार राम्रो छ। यो वर्ष मेरै दस टन फूल उत्पादन होला भन्ने अनुमान गरेको छु। तिहारमा मात्रै ७०/८० क्विन्टल उत्पादन होला भन्ने अनुमान छ। अन्य किसानले पनि उत्पादन गर्दा धनगढीमा यो वर्ष फूलको अभाव हुन्न। यो वर्ष तिहारमा कसैले पनि  प्लास्टिकको माला लगाउने अवस्था आउन्न दिन्नौँ।’

३० हजार फूलका बिरुवा रोप्न र करिब एक लाख ५० हजार बिरुवा उत्पादन गर्दासम्म साढे तीन लाख खर्च भएको बिष्टले बताएका छन्। एक कट्ठामा एक हजार बिरुवा रोपेका विष्ट दम्पतीले यो वर्ष १० टन फूल उत्पादन गर्ने लक्ष्य राखेका छन्। धनगढी उपमहानगरले यो वर्ष २६ जनालाई एक हप्ते व्यावसायिक पुष्प खेती सम्बन्धि तालिम दिलाएको थियो। यो वर्ष धनगढीको माग पूरा गरेर बाहिर पठाउनसमेत फूल उत्पादन हुने धनगढी उपमहानगर पालिकाको कृषि शाखा प्रमुख लोकराज उपाध्यायले बताए। ‘यो वर्ष हामीले २६ जनालाई व्यावसायिक पुष्प खेती सम्बन्धि एक हप्ते तालिम दिएका थियौँ। खेती गर्न चाहनेबाट मात्रै आवेदन माग गरेका थियौँ,’ उनले भने, ‘तालिम लिने सबैले कम्तीमा १ कट्ठादेखि डेढ बिघामा पुष्प खेती गरेका छन्। यो वर्ष धनगढीमा प्रसस्त फूल उत्पादन हुन्छ।’

स्नातक गरेकी सुशीला र  १२ पास गरेका शंकरको जोडीले व्यावसायिक पुष्प खेतीमा रमाउने सोच बनाएका छन्। उनीहरूले असार तेस्रो हप्ता राखेको बेर्नालाई साउन पहिलो हप्ता  बारीमा सारेका छन्। बिरुवा रोपेको ९० दिनपछि फूल लाग्न सुरु हुनेछ भने अहिले लगाएको बोटले लगातार ६ महिना फूल उत्पादन गर्नेछ। मौसम, मलखाद र गोडमेलमा तालमेल मिलाउन सकिए एक बोटबाट ३ देखि ४ किलोग्राम फूल उत्पादन हुनेछ। अहिले भने विष्ट दम्पती बिरुवा गोडमेल गर्ने, मलखाद राख्ने र  पिन्चिङ गर्नुका साथै नर्सरीमा भएका बिरुवा बिक्रीमा व्यस्त छन्।
 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस