सुदूर नेपाललाई विश्वसँग जोड्दै

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीले ढाई बर्ष सम्म पनि पुरस्कार पाएनन्

२०७६ वैशाख ८, १२:५९ नवराज पनेरु

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट २०७३ सालमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनु अगाडी छनौट चलिरहँदा धनगढी आए। धनगढीको रंगशालामै आयोजित एक कार्यक्रममा बोल्दै उनले एउटा घोषणा गरे। उनले प्रतियोगिताका लागि छनौट हुने सुदुरपश्चिमका खेलाडीहरुको अध्ययनको जिम्मा राष्ट्रिय खेलकुद परिषदले लिने घोषणा गरे।  तर उक्त वाचा पूरा नभएपछि अहिले खेलाडीहरुमा निराशा बढेको छ। यस्तै राष्ट्रिय खेलकुद परिषदका केन्द्रिय सदस्य एकिन्द्र कुँवरले पदक विजेता सुदूरपीश्चमका खेलाडीलाई  आफ्नो तर्फबाट नगद पुरस्कार दिने घोषणा गरेको पनि ढाई वर्ष पुगिसकेको छ।

उनले स्वर्ण पदक जित्ने खेलाडीलाई नगद १० हजार, रजत पदक जित्नेलाई नगद  पाँच  हजार र कास्य पदक जित्नेलाई नगद तीन हजार पुरस्कार दिने घोषणा गरेका थिए। तर अहिले सम्म उक्त पुरस्कार खेलाडीहरुले पाएका छैनन्। सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेको सुदूरपश्चिमको महिला हक्की टिमकी खेलाडी डिम्पल चौधरीे अहिले सम्म पुरस्कार नपाएको बताईन्। खेलाडीहरुको हौसला वढाउन र उनीहरुलाई उत्प्रेरणा दिनका लागि व्यक्तिगत रुपमा नगद पुरस्कार दिने घोषणा कुँवरले गरेका थिए। प्रतियोगिता चलिरहँदा खेलाडीसँगै पूर्वाञ्चलमा रहेका कुवँरले छैटौ राष्ट्रिय खेलकुदमा केही खेलहरुमा नगद पुरस्कार घोषणा गरिदा सुदूरपश्चिमले फुटवलमा स्वर्ण पदक जितेको घटना ताजै रहेको स्मरण गराउँदै  आफ्नो क्षेत्रवाट खेलाडीहरुलाई हौसला वढाउनका लागि सहयोग गर्न पनि आग्रह गरेका थिए। तर कुँवर आफैले ढाई वर्ष सम्म उक्त पुरस्कार नदिएका हुन्।

राष्ट्रिय खेलकुद परिषदका केन्द्रिय सदस्य समेत रहेका कुँवरले सातौँ खेलकुद सकिने बितिकै आफू बाहिर गएकाले दिन नसकिएको दावी गरे। आठाँैँ खेलकुद प्रतियोगिता सकिएपछि पुरस्कार दिने उनको दावी छ। अहिले प्रदेश ५ मा आठाँैँ राष्ट्रिय खेलकुद प्रतियोगिता चलिरहेको छ तर सुदूरपश्चिमका खेलाडीले सातौँमै घोषणा भएको पुरस्कार पनि ढाई बर्ष सम्म पाएका छैनन्। पुरुष हक्कीमा रजत पदक जिताएका टिमका कप्तान कान्ती पनेरुले पनि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव र केन्द्रिय सदस्यको आश्वासन अहिले सम्म पुरा नभएको गुनासो गरे। सातौँ राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमले चार स्वर्ण, ११ रजत र ५९ कास्य सहित ७४ पदक जितेको थियो। 
 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस