सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा चुनावी बजेटमा बनेको कल्भर्ट अहिले आएर भाइरल

२०८० साउन १६, ०६:५३ नारायण अवस्थी

धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४, स्कुल टोलको जहरे खोलामा ७ लाख पचास हजारको लागतमा कल्भर्ट निर्माण गरिएको छ। आर्थिक वर्ष  २०७८/७९ को बजेटमा स्कुलटोलदेखि नर्सरीको रिङ रोड जाने सडक हुँदै खल्लाढाया टोल जाने सडक निर्माण गर्न खोलामा कल्भर्ट निर्माण गरिएको हो। तर, पानीको निकासका लागि साँघुरो ठाउँ छोड्दै सडक निर्माण नगर्दै खोलामा कल्भर्ट बनाएर छोडिएको छ।

खोलाको वारि र पारि सडक खन्न जग्गाको टुङ्गो नलाग्दै कल्भर्ट निर्माण गरिएको छ। वडा नम्बर ४ मै अघिल्लो नगर सरकारले थप दुई वटा कल्भर्ट सडक निर्माण नगरी बनाएको थियो। बालुवाखोलामा जग्गा प्लटिङ गर्न सहयोग पुगाउन ५ लाखको कल्भर्ट र अर्को जहरे खोलामै पाँच लाखको लागतमा कल्भर्ट निर्माण गरिएको छ। दुईवटा कल्भर्टका लागि सडक निर्माण गरिए पनि स्कुल टोलको जहरे खोलाको कल्भर्ट भने सडक नबन्दा चर्चित बनेको छ।

यस्तै, वडा नम्बर ७ र ८ को सिमानामा रहेको गौडी कुत्ता खोलामा १५ लाख ३ हजारको लागतमा बनेको कल्भर्ट पनि ठिङ्ग उभिएको छ। खोलामा मोटर चल्ने कल्भर्ट छ तर सडक बनाउन स्थानीयले जग्गा छोडेका छैनन्। सडक नबन्दा कल्भर्टको औचित्य  नभएको स्थानीय मोहनसिंह धामीले बताए। ‘पहुँचको आधारमा पूर्व मेयर कर्ण हमालले कल्भर्टको योजना दिएका हुन्। कल्भर्ट बन्यो तर सडक बनाउन सकिएन। सडक नभएको ठाउँमा बनेको कल्भर्टको औचित्य नै छैन,’ धामीले भने।

कृष्णपुर नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को बजेटमा कल्भर्ट निर्माणका योजना समावेश गरिएको हो। कार्यकालको अन्तिम वर्षको बजेटमा अघिल्लो कार्यकालमा सडक नभएको ठाउँमा कल्भर्टका योजना हालिएको वडा नम्बर ८ का अध्यक्ष  घुम्मन रानाले बताए। ‘गौडी कुत्ता खोलामा सडक छैन तर कल्भर्ट निर्माण गरिएको छ।

सडक बनाउन स्थानीयले ऐलानी जग्गासमेत छोडेनन्,’ उनले भने, ‘सडक नहुँदा खोलामा बाटो नभएको ठाउँमा अघिल्लो स्थानीय सरकारले किन कल्भर्ट निर्माण गर्‍यो भनेर स्थानीयले पनि प्रश्न गर्ने गरेका छन्।’ वडा नम्बर ४ को जहरे खोलाको कल्भर्टलाई प्रयोगमा ल्याउन सडक निर्माण गर्न भरान गर्न र तटबन्ध गर्न करिब ३० लाख बजेट लाग्ने नगरपालिकाले बताएको छ। पानीको निकासका लागि दायाँबायाँ ह्युमपाइप हालेर भरान गर्दा सो रकम खर्च हुने अनुमान गरिएको छ। कल्भर्ट सुचारु गर्न खोला वारिपारि सडक बनाउन भने जग्गाको सुनिश्चितता छैन।

जग्गा प्राप्तिका लागि पहल गर्ने र निर्माण भएको कल्भर्ट प्रयोगमा ल्याउने नगर प्रमुख ओझाले बताए। ‘अघिल्लो कार्यकालमा साथीहरूले कल्भर्ट निर्माण गरे। अहिले आएर भाइरल भयो। हामीले कल्भर्ट प्रयोगमा ल्याउने तयारी थालेका छौँ। तर, वारिपारि सडक बनाउन जग्गाको समस्या छ, ‘उनले भने, ‘तर पनि जग्गा प्राप्तिको प्रक्रिया पूरा गरेर पनि कल्भर्ट प्रयोगमा ल्याउँछौँ।’

जहरे खोला बनेको कल्भर्ट प्रयोगमा ल्याउन नगरपालिकाले तयारी गरे पनि वडा नम्बर ७ र ८ को गौडी कुत्ता खोलाको कल्भर्ट भने प्रयोगमा ल्याउन समस्या छ। कल्भर्ट पारि तीनवटा घर भए पनि सबभन्दा अगाडि भएको घर धनीले नै सडकका लागि जग्गा नछोड्ने अडान लिँदा खेतको बिचमा बनेको कल्भर्ट प्रयोगमा ल्याउन समस्या छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस