सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिमाको नाममा धनगढीका रिक्साचालक मजदुर संघबाटै यसरी लुटिए

२०८० साउन १५, ०२:१० खबर संवाददाता

धनगढीः धनगढीका अधिकांश रिक्साचालक मजदुर बिमाको नाममा ठगिएका छन्। विद्युतीय रिक्साचालक मजदुर संघले बिमा गराइदिने नाममा मजदुरको रकम पचाउने काम भएको आरोप छ। धनगढीमा रहेको विद्युतीय रिक्साचालक मजदुर संघले हरेक मजदुरबाट ६ हजारदेखि ८ हजार रुपैयाँसम्म असुल गरेर रकम हिनामिना गरेको भन्दै विरोध भइरहेको छ।

बिमा वाफतको रकम संघले लिइसकेको भए पनि बिमा गरेको रसिद अहिलेसम्म नदिएको मजदुरको गुनासो छ। संघले बिमा गराइदिने नाममा हिक्मतबहादुर शाहबाट ८ हजार, चुन्नीलाल चौधरीबाट २२ हजार, तुलाराम कोलीबाट ८ हजार, विष्णुभक्त विष्टबाट ६ हजार, योगराज जोशीबाट ६ हजार, रामबहादुर दमाईबाट ६ हजार तथा चम्मल शर्माबाट ६ हजार बिमा गराई दिने नाममा रकम लिएको भए पनि अहिलेसम्म बिमा गरेको रसिद नपाएको मजदुरको गुनासो छ।

त्यस्तै विद्युतीय रिक्साचालक मजदुर संघले रामदास रानाबाट ६ हजार, छोटेलाल चौधरीबाट ६ हजार, बिरबल चौधरीबाट ८ हजार, रामबहादुर महराबाट ६ हजार, धर्मराज सोपबाट ६ हजार, ज्ञाता पौडेलबाट ६ हजार तथा ऐनबहादुर शाहीबाट ६ हजार असुल गरेको भन्दै पीडितले रकम फिर्ताको माग गरेका छन्।

त्यस्तै जीवन न्यौपानेबाट ६ हजार मोतीलाल चौधरीबाट ८ हजार, दिपक नेपालीबाट ६ हजार, जगतबहादुर खड्काबाट ६ हजार, तारानारायण घिमिरेबाट ६ हजार, जनराज भट्टबाट तीन अटो रिक्साको १८ हजार तथा रामु चौधरीबाट ६ हजार बिमाको नाममा रकम असुल गरेर संघले ठग्ने काम गरेको मजदुरको गुनासो छ। संघले अटो रिक्साको हामी आफै बिमा गराइदिन्छौँ भनेर ६ सिटेको ८ हजार, ५ सिटेको ६ हजारका दरले रकम असुल गरेको रिक्साचालक मजदुर हिक्कमतबहादुर शाहको गुनासो छ।

तर बिमा कम्पनीमा रिक्साचालक मजदुरको रकम जम्मा नभएको उनको भनाई छ। उनीहरुले बिमा गरेको रसिद समेत नदिएको मजदुरको गुनासो छ। विद्युतीय रिक्साचालक मजदुर संघले बिमा वाफत ४५ जना रिक्साचालक मजदुरको पैसा हिनामिना गरेको मजदुर शाहको आरोप छ।
विद्युतीय रिक्साचालक मजदुर संघले बिमाको नाममा आफुहरुको रकम हिनामिना गरेर ठगेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिन गएको समेत एक थरी रिक्साचालक मजदुरले बताएका छन्।

प्रशासनमा ठगिको निवेदन लगेर गएको बताउँदै एक मजदुरले भने सो निवेदन उपर कारवाही अघि बढाउन भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा पठाएकोमा प्रहरीले भने यस्तो विषय प्रहरीले नहेर्ने भन्दै निवेदन नै दर्ता गर्न आनाकानी गर्ने काम भइरहेको गुनासो गरेका छन्। तर विद्युतीय रिक्साचालक मजदुर संघका अध्यक्ष मिनराज जोशीले भने बिमा गराउने काम संघको नभएकाले मजदुरको रकम संघबाट हिनामिना नभएको बताउँदै आएका छन्। रिक्साचालक मजदुरले भने एकमुष्ट रुपमा सबैको बिमा गराउने र सबै रिक्साचालकले संघमै रकम जम्मा गर्न भनेपछि सम्पूर्ण मजदुरले संघमै रकम बुझाएको भन्दै रकम फिर्ताको माग गर्दै आएका छन्।

कमेन्ट लोड गर्नुस