सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ठूला आयोजना निर्माणको हविगत, बजेट छ कार्यान्वयन छैन

२०८० साउन १४, ११:२० खबर संवाददाता

धनगढीः कैलालीमा ठूला निर्माणाधिन आयोजनाको हबिगत बिग्रदै गएको छ। सिँचाई आयोजनादेखि सडक पूर्वाधार निर्माणका आयोजनामा वर्षेनि बजेट विनियोजन हुँदै आए पनि प्रभावकारी रुपमा कार्यान्वयन भने हुने गरेको छैन्। कैलालीका निर्माणधिन राष्ट्रिय गौरवको आयोजना रानी–जमरा–कुलरिया सिँचाई आयोजना निर्माणको काम प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन्।

आर्थिक वर्ष २०७९/८० मा कुल दुई अर्ब ८४ करोड ८२ लाख बजेट विनियोजन गरिएकोमा खर्च भने एक अर्ब एक करोड ८७ लाख खर्च नभएर फिर्ता भएको छ। सो आयोजना निर्माणमा एक अर्ब ८२ करोड ९४ लाख रुपैयाँ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्यांक छ।
चिसापानीस्थित कर्णाली नदीमा आयोजनाको बाँध निर्माणको काम पूरा भए पनि नहर निर्माणको कामले भने तीव्रता पाउन सकेको छैन। निर्माणमा भएको ढिलाइले आयोजनाको अवधि लम्बिँदै गएको छ।

रानीजमराकै कृषितर्फ ६९ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा ३० लाख ८१ हजार मात्र खर्च भएको देखिएको छ। कैलालीमा निर्माणाधिन अन्य ठूला आयोजना निर्माणको हबिगत पनि  रानी–जमराको जस्तै छ। मोहनापुल–अत्तरिया सडक योजनाको कुल ८ करोड २० लाख बजेटमध्ये चार करोड ९७ लाख मात्र खर्च भएको छ। सो योजनाअन्तर्गत ६ लेन सडक निर्माणको काम पूरा भएको छ भने तीनवटा पुल निर्माणको काम सुस्त गतिमा अघि बढेको छ।

निर्माण अवधि सकिएर म्याद थप गरिएको भए पनि पुल निर्माणको कामले गति लिन सकेको छैन्। त्यस्तै दुई अर्ब १८ करोड ७४ लाख बजेट पाएको क्षेत्रीय आयोजना कार्यान्वयन एकाइले ९८ करोड ७४ लाख मात्र खर्च गर्न सकेको छ। एकाइले क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत कैलाली र कञ्चनपुरका चारवटा नगरमा सडकलगायत योजना निर्माण गर्दै आएको छ। सो योजना अन्तर्गत गत वर्ष एक अर्ब २० करोड रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको छ।

सघन सहरी विकास कार्यक्रम कार्यान्वयन गरिरहेको संघीय आयोजना कार्यान्वयन एकाइको ७५ करोड ३१ लाख ७५ हजारमध्ये ३३ करोड ३९ लाख ७० हजार खर्च हुन नसकेर फिर्ता भएको छ। त्यस्तै स्थानीय पूर्वाधार विकास आयोजनाले प्राप्त गरेको २० करोड साढे १२ लाख बजेटमध्ये पाँच करोड ८३ लाख मात्र खर्च भएको छ। हुलाकी राजमार्गले भने शतप्रतिशत बजेट खर्च गरेको कोष नियन्त्रण कार्यालयको तथ्यांक छ। राष्ट्रपति चुरे कार्यक्रमले करिब ९५ प्रतिशत बजेट खर्च गरेको छ भने भारतीय एक्जिम बैंकको ऋण सहयोगमा सञ्चालित सहजपुर–बोगटान–दीपायल सडक योजनाले पूरै बजेट खर्च गरेको पाइएको छ।

कमेन्ट लोड गर्नुस