सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा मालबाहक सवारी जस्तै सामान हालेर हुइकिन्छन् यात्रुबाहक बस

२०८० साउन १३, १२:२५ नारायण अवस्थी

धनगढीः शुक्रवार राति ९ बजे गोदावरी नगरपालिका–४ अत्तरियाको पहिलो मोडमा यात्रुबाहक बस दुर्घटना भयो। महेन्द्रनगरबाट दार्चुला सदरमुकामका लागि साँझ ४ बजे महेन्द्रनगर बसपार्कबाट छुटेको बस गोदावरीको उकालोमा अनियंत्रित भएर नालीमा खसेको प्रहरीले जनाएको छ।
महेन्द्रनगर बसपार्कबाट साँझ चार बजे छुटेको बस अत्तरिया बसपार्कमा निकै लामो समयसम्म रोकिएको थियो।

अत्तरिया बसपार्कबाट बस दुर्घटना भएको ठाउँसम्मको दुरी बढीमा चार किलोमीटर छ। महेन्द्रनगरबाट साँझ ४ बजे छुटेको बसलाई गोदावरीसम्म पुग्न पाँच घण्टा समय लागेको थियो। महाकाली यातायातको ना ७ ख  ६५१६ नम्बरको बसले महेन्द्रनगरदेखि अत्तरिया ५२ किलोमिटर र थप चार किलोमिटर गरेर ५७ किलोमिटरको दुरी तय गर्न पाँच घण्टा समय लगाएको देखिन्छ।

नियमअनुसार यात्रुलाई सकुशल गन्तव्यमा पुगाउन यातायात क्षेत्रमा क्रियाशील बस व्यवसायी समितिहरूले यात्रुलाई कतिसम्म हैरानी दिन्छन् भन्ने कुरा महेन्द्रनगरबाट अत्तरिया पुग्न लगाएको समयलाई हेर्दा स्पष्ट हुन्छ। शुक्रवार राति दुर्घटना भएको बसको सिट क्षमता ३६ जना रहेको र ३४ जना यात्रुले टिकट काटेको महाकाली यातायात कार्यालय महेन्द्रनगरले जनाएको छ। बसमा सिट क्षमताभन्दा २ जना कम सवार रहेको र यात्रुहरूको सामान मात्रै बसमा रहेको महाकाली बस व्यवसायी समितिका अध्यक्ष डम्बरदत्त पन्तले बताए।

बस दुर्घटना भएर नालीमा खस्दा दुई जना यात्रु सामान्य घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ। दार्चुलाको महाकाली नगरपालिका–५ की जयन्ती भट्ट र कञ्चनपुरको वेदकोट नगरपालिका–८ का देवबहादुर बम घाइते भएका हुन्। बस नालीमा नखसेर सडक किनारतर्फ खसेको भए गोदावरी खोलामा बस दुर्घटना हुने थियो। बस नालीमा खस्दा यात्रुको ज्यान बचेको हो नत्र ठूलो मानवीय क्षति हुने थियो।

दुर्घटनामा परेको बसमा सवार एक जना यात्रुले दुर्घटना लगत्तै दिनेशखबरलाई फोन गरेर बसमा व्यापारीको सामान राखिएकाले अत्यधिक भारका कारण दुर्घटना भएको बताएका छन्। अत्तरिया बसपार्कमा बसको छतमा, डिग्गी र ग्यालरी सामान राखिएको ती यात्रुले बताए। यात्रुबाहक बसमा ट्रक जस्तै सामान राखिदा ओभरलोडका कारण बस अनियंत्रित भएर नालीमा खसेको दाबी छ। यदी गाडी सडक किनारबाट तल खसेको भए ठुलो मानवीय क्षति हुने ती यात्रुले बताएका छन्।

बसमा सवार अर्का यात्रुका अनुसार अत्तरिया सडकमा सामान हाल्न गाडी निकै बेर रोकेको र प्रहरी बिटमा पनि गाडी लामो समयसम्म रोकिएको बताएका छन्। ट्राफिक प्रहरीले निकै बेर रोकेपछि बसलाई अगाडि बढ्न दिएको ती यात्रुले बताए। ट्राफिक प्रहरीले छत, डिग्गी र ग्यालरीमा राखिएको सामानको निरीक्षण नगरेरै बस रोक्न लगाएको र निकै लामो समयपछि बसलाई अगाडि बढ्न दिएको यात्रुको गुनासो छ। तर, ट्राफिक प्रहरीले भने बसमा अत्यधिक सामान रहेको विषयमा यात्रुले पनि प्रतिवाद गर्नुपर्ने बताएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक नेत्रमणि गिरीले बसमा पहिला आफैं सामान राख्ने र दुर्घटना भयो भने प्रहरीलाई मात्रै दोषी देखाउने प्रवृत्ति गलत भएको बताए। ‘प्रहरीले दुर्घटनामा परेर घाइतेलाई अस्पताल र बाँकी यात्रुलाई अर्को बस मगाएर गन्तव्यमा पुग्न सहयोग गरेको छ। यात्रुहरूले पनि बसको क्षमताभन्दा बढी यात्रु र सामान राख्न लाग्दा प्रतिवाद गर्नुपर्छ। त्यो गर्दैनन् अनि हामीलाई दोष दिन्छन्। यो कुरा गलत हो,’ ट्राफिक प्रहरी प्रमुख गिरीले भने।

यातायात व्यवसायी र ट्राफिक प्रहरीले घुमाउरो तरिकाले बसमा यात्रुको बाहेक अन्यको सामान नभएको बताए पनि यात्रुले भने व्यापारीको सामानको कारण बसको क्षमताभन्दा बढी भार हुँदा गाडी अनियंत्रित भएर दुर्घटना भएको बताएका छन्। धनगढी र महेन्द्रनगरबाट पहाडी जिल्लाका लागि छुट्ने बसहरूले यात्रुसँगै पसलको सामान पनि बोक्ने गरेको पाइएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस