महाकालीमा बेपत्ता युवकको न सास न लाश, परिवारमा रुवाबासी
धनगढीः महाकाली नदीमा हाम फालेका युवकको अहिलेसम्म कुनै अत्तोपत्तो छैन्। बैतडीको सुर्नया गाउँपालिका–४ दिकथला घरभई हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गजरौला बस्दै आएका २५ वर्षीय जनकराज भट्ट महाकाली नदीमा हामफालेर बेपत्ता भएको एक साता पुग्नै लाग्दा समेत कहिँकतै फेला परेका छैनन्।
कञ्चनपुरस्थित महाकाली नदीमा शनिवार राति हामफालेका ती युवकको अवस्था अज्ञात रहेको आफन्त विशाल भट्टले बताए। उनका अनुसार जनक केहिदिन पहिले मात्रै भारत गएका थिए। रोजगारीको शिलशिलामा भारतको दिल्ली अजादपुर गएका उनी घर जान्छु भनेर नेपाल फर्किएका थिए। भारतबाट नेपाल फर्किएका उनी शनिबार बिहान कञ्चनपुरको महेनद्रनगर बजार पुगेका थिए।
महेन्द्रनगर बजार पुगेका उनी भीमदत्त नगरपालिका बस्ने आमाको बहिनीको छोरासंगै एक होटेलमा नास्ता गरेर दोधरा घुम्न गएका बताइन्छ। घुम्न गएका उनले झोलुङ्गे पुलबाट एक्कासि हामफालेका आमाकी बहिनीका छोराले बयान दिएका छन्। उनकी आमाको बहिनीका छोरालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहको छ।
खोजी कार्यका लागि ठुलो संख्यामा कञ्चनपुर प्रहरीले टोली परिचालन गरेको भए पनि अहिलेसम्म न सास न लाश केहि पनि फेला परेको छैन्। सुरुमा प्रहरीले खोजीकार्यमा तीव्रता दिए पनि अहिले बेवास्ता गरेको भन्दै आफन्त आक्रोशित छन्। आफन्तका अनुसार उनले आफै महाकलीमा हाम फालेर बेपत्ता नभई कसैले गायब गरेको भन्दै सत्यतथ्य बाहिर ल्याउन माग समेत गरेका छन्।
कञ्चनपुर प्रहरीले भने खोजी कार्य अहिले पनि जारी नै रहेको बताएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले अनुसन्धान जारी नै रहेकाले घटनाको विषयमा अहिले नै एकिनका साथ भन्न सकिने अवस्था नरहेको बताए। ‘हामीले एक जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेका छौँ, उनको तारिख नै लगाएर घटनाको सत्यतथ्य बुझ्ने काम भइरहेको छ।’